फलेवास, पर्वत- साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शव तीन हप्तापछि नेपाल ल्याइएको छ।
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार बिहान घरमा आएको हो। गत जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए।
मृतक केसीको मोदीखोलामा दाहसंस्कार गरिएको छ। बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शवमा दागबत्ती दिएका थिए। रोजगारीका लागि विदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ।
मृतकको शव गाउँमा आएपछि सयौँ गाउँले श्रद्धाञ्जलि दिन पुगेका थिए। 'सिंगो गाउँ नै शोकमा डुबेको थियो,' स्थानीयवासी तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा), पर्वतका नेता भक्त कुँवरले भने, 'शव देखेपछि आँसु नझार्ने कोही भएन।'
रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चार जनाले नसिबमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते भएका केसीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। साथीहरुले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको थियो।
२० महिनाअघि रोजगारीका लागि मलेसिया पुगेका केसी परिवारका कान्छा सन्तान हुन्। उनी अविवाहित थिए। उनका पिता भीमबहादुर केसी पनि वैदेशिक रोजगारीमा जाने आउने गरिरहन्थे।
हत्या गर्ने साथीहरु चारैजना प्रहरी नियन्त्रणमा रहे पनि एक जनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।