काठमाडौं– पाँच दिने भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदैछन्। चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोलीसहित प्रधानमन्त्री हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन जाने बताइएको छ।
प्रधानमन्त्री ओलीसँगै गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जानेछन्।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ तथा समकक्षी लि खछयाङसँग छुट्टाछ्ट्टै भेट गर्ने कार्यक्रम तय भएकोे छ। सो क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग पनि ओलीले भेट्नेछन्।
‘विगतमा गरिएका सम्झौता कार्यान्वयनमा जोड’
आफ्नो चीन भ्रमणका क्रममा विगतमा गरिएका सम्झौता कार्यान्वयनमा जोड दिने प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धलाई अझै सुदृढ बनाउन चिनियाँ नेतृत्वसँग स्पष्ट दृष्टिकोण राख्ने पनि स्पष्ट पारेका छन्। आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई सोमबार औपचारिक जानकारी गराउँदै उनले भ्रमण मुलुकको बृहत्तर हितमा केन्द्रित हुने स्पष्ट पारेका थिए।
प्रधानमन्त्री ओलीले पारवहन, रेल सेवा सञ्चालन, उर्जा क्षेत्रको विकास गर्ने विगतको सहमति कार्यान्वयनमा तीव्रता दिन आफ्नो भ्रमण केन्द्रित हुने बताए। उनले भ्रमणका क्रममा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणालाई अघि बढाउने विषयमा पनि छलफल हुने बताए।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा तातोपानी नाका खुलाउने विषयमा पनि छलफल हुने जानकारी दिए। उनले नेपालको विकासमा चिनियाँ लगानी बढाउन पनि आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले सरकारले छिमेकसँगको सम्बन्ध विस्तार गर्नुको मुख्य उद्देश्य मुलुकलाई समृद्ध बनाउन रहेको पनि प्रष्ट पारेका छन्।
८ वटा सीमा नाका खोलिने, रेलमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र तिब्बतका राजमार्गमा खाद्यान्न ढुवानीका निम्ति ८ वटा सीमानाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनेछ। केरुङ–काठमाडौं रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने कार्यसूची तय भएको छ।
त्यसैगरी नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा साझेदारी र ७ वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ।
भूकम्पपछिको नेपालको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने १६ अर्ब चिनियाँ युआन, १ हजार मेगावाट क्षमताको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना, समुद्री बन्दरगाह र सुक्खा बन्दरगाहको प्रयोग, सहज एवं सर्वसुलभ सूचना तथा सञ्चार प्रवाहका निम्ति अप्टिकल फाइबर बिछ्याउने लगायत नेपालको राष्ट्रिय हित र स्वार्थका परियोजनामा पारस्परिक सहयोगको सम्झौता यो भ्रमणमा हुनेछ।
तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुईवटा र हुम्लाको हिल्सामा एक व्यापार नाका खुल्नेछन्।
चीनका राष्ट्रपतिले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ अन्तर्गतका परियोजना, तिनको निर्माण तथा लगानीको ढाँचाबारे पनि बृहत् रुपमा दुवै मुलुकबीच छलफल भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
नेपालको राष्ट्रिय आवश्यकताका परियोजना नै बिआरआई अन्तर्गत निर्माण गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।