राजविराज– सप्तरी सदरमुकाम राजविराजस्थित होलिक्रस बोर्डिङ स्कुलका प्रिन्सिपलले एक बालकलाई निर्घात कुटपिट गरेका छन्।
बोर्डिङ स्कुलका प्रिन्सिपल तथा सञ्चालक विनोद साफीको कुटपिटबाट स्थानीय पब्लिक विन्देश्वरी माविमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक धर्मदेव साह गम्भीर घाइते भएका छन्। छातीमा गम्भीर चोट लागेका बालकको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पतालमा थप उपचार भएको छ।
घटना गत शनिबार साँझ भएको हो। उपचारपछि फर्केर पीडक विरुद्ध उजुरी दिन जाँदा प्रहरीले दर्ता नगरेपछि घटना सार्वजनिक भएको हो। प्रहरीले उल्टै मिलापत्र गर्न दबाव दिन थालेको पीडित बालकका पिता रामआशिष साहले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

उनका अनुसार शनिबार बिदा भएकाले विनोद डेरा नजिकै रहेको बोर्डिङ स्कुलमा खेल्न गएका थिए। झोलुंगो खेल्ने क्रममा उनका साथी अमित यादव लडेर सामान्य घाइते भएपछि सोही झोकमा प्रिन्सिपल साफीले आफ्नो छोरालाई मरणासन्न हुनेगरी कुटपिट गरेको साहले बताए।
‘वरिपरिका मान्छेले मर्छ धेरै नकुट भन्दा समेत उनको रिस मरेन’, उनले भने, ‘छोरा बेहोस भएपछि मात्रै कुटपिटको सिलसिला रोकियो।’ लात्ती र लाठीले अन्धाधुन्ध हिर्काएका कारण छोराको शरीरमा गहिरो चोट लागेको उनले बताए।
घटना लगत्तै बोर्डिङ स्कुलमा तालाबन्दी गरिएको थियो। प्रहरीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि सोमबार तालाबन्दी खोलिएको छ।
प्रिन्सिपल साफीले पनि आफूले बालकलाई कुटेको स्वीकार गरेका छन्।
‘आफ्नो विद्यालयको विद्यार्थीलाई कुटपिट गरेपछि आवेशमा आएर मैले पनि ४/५ थप्पड हानेको हो’, उनले भने, ‘मैले मर्ने गरी हिर्काएको होइन।’
प्रहरीले घटनाबारे छानबिन भइरहेको र अनुसन्धानपछि दोषीमाथि कारबाही गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।