डोल्पा- हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एक व्यक्तिको बीभत्स ढंगले हत्या गरिएको छ।
डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो। मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ। मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ।
मृतकले यार्सागुम्बा बेचेर कमाएको ७०/७५ हजार रुपैयाँ नगदका लागि उनको हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ। मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए।
सञ्चारको कुनै पनि सुविधा नभएकाले राति १ बजे प्रहरी चौकी धो मा जानकारी आएपछि तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको उनले जानकारी दिए। उनका अनुसार, आजै बिहान सदरमुकाम दुनैबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी पठाइएको तर सदरमुकामबाट उक्त घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने भएकाले घटनाबारे थप जानकारी आउन समय लाग्नेछ।
भौगोलिक विकटताका कारण शव ल्याउन समेत कठिन हुने भएको छ। मृतकका आफन्तलाई जानकारी गराइसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक पुन मगरका छोरा मुस्ताङबाट डोल्पातर्फ आउँदै छन्।
शव परीक्षणका लागि जिल्ला सदरमुकामसम्म ल्याउन कम्तीमा पनि एक साता लाग्ने जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।