म्याग्दी- बेनी–जोमसोम सडक अन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ।
रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ। आइतबार दिउँसो पुलको गलेश्वरतर्फको बिमदेखि करिब पाँच मिटर नजिकको सडक भाँसिएको हो।
खोलाले धार कटान गर्दै जाँदा पुल र नजिकैको बस्ती जोखिममा परेको स्थानीयवासी दीपक कार्कीले बताए। बेनी–जोमसोम-कोरला सडक आयोजनाले ठेक्कामार्फत गलेश्वरस्थित रघुगंगा नदीमा पक्की मोटरेबल पुल निर्माण सुरु गरेको छ। पुलको पिप्लेतर्फको पिल्लर ठडाउने खाडल खन्न खोलाको धार गलेश्वरतर्फ डाईभर्सन गराइएकाले कटान गरेर सडक भाँसिएको हो।
सडक भाँसिएर कटानको जोखिम बढेपछि ठेकेदार कम्पनीले पिल्लरको जग खन्ने काम रोकेर संरक्षणको काम सुरु गरेको छ।
जिसस प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा, पूर्वसांसद गोविन्द पौडेलको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेर जोखिम न्यूनीकरणको उपाय अपनाउन निर्देशन दिएका छन्।
खोलाको धार पुरानै स्वरुपमा फर्काउन र जोखिम नहुने गरी सावधानी अपनाएर काम गर्न आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिइएको प्रजिअ अधिकारीले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।