काठमाडौं- पाकिस्तानका पूर्वबलर शोयब अख्तरले आईसीसीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
उनले टी२० विश्वकप २०२१ मा बाबर आजमलाई प्लेयर अफ द टुर्नामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित नगरेकोमा असन्तुष्टि जनाएका हुन्। आईसीसीले बाबरको सट्टा अष्ट्रेलियाका ओपनिङ ब्याटर डेविड वार्नरलाई उत्कृष्ट खेलाडी घोषित गरेको थियो।
आईसीसीको निर्णयप्रति असन्तुष्टि पोख्दै अख्तरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘म बाबर आजम प्लेयर अफ द टुर्नामेन्ट भएको हेर्न चाहेको थिएँ। तर, आईसीसीले अनुचित निर्णय गर्यो।’
विश्वकपमा पाकिस्तानी कप्तान आजमले सर्वाधिक ३०३ रन बनाएका थिए। बाबरले ६ खेलमा ४ मा अर्धशतकसहित कुल ३ सय ३ रन बनाए। औसत ६० को रहँदा स्ट्राइकरेट १२६.२५ छ। प्रतियोगिताभर कूल २ सय ४० बल खेलेका बाबरले २८ चौका र ५ छक्का प्रहार गरेका थिए। पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।
अष्ट्रेलियालाई उपाधि जिताउन वार्नरले ७ खेलमा ३ अर्धशतकसहित २ सय ८९ रन बनाएका थिए। १४६.७० को स्ट्राइक रेटमा वार्नरले ३२ चौका र १० छक्का प्रहार थिए। औसत ४८.१६ थियो। वार्नरले प्रतियोगिताभर कूल १ सय ९७ बल खेलेका थिए। फाइनलमा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भएका थिए।
वार्नरले सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३० बलमा ३ चौका र ३ छक्कासहित ४९ रनको महत्त्वपूर्ण इनिङ्स खेलेका थिए। समूह चरणमा वेस्टइन्डिजविरुद्ध ८९ र श्रीलंकाविरुद्ध ६५ रनको इनिङ्स खेलेका थिए।
दक्षिण अफ्रिकाविरुद्ध १४, इंग्ल्यान्डसँग १ र बंगलादेशविरुद्ध १८ रनमा आउट भएका थिए। उनी सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।