काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ को उपाधि अस्ट्रेलियाले जितेको छ। सन् २०१० को टी२० विश्वकपको फाइनलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ८ विकेटले नै हराउँदै उपाधि हात पारेको हो।
पहिलो पटक फाइनल खेलेको न्यूजिल्यान्डले दिएको १ सय ७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
अस्ट्रेलियाका लागि मिचेल मार्शले अविजित ७७ रन बनाए। उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
यता, डेविड वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए। ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहँदा कप्तान आरोन फिन्च ५ रनमा आउट भए।
न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो।
न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए। उनले ४८ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
यस्तै, मार्टिन गप्टिलले २८ रन जोडे। ओपनर गप्टिलले ब्यक्तिगत १० रनमा जीवनदान पाएका थिए। स्पिनर ग्लेन म्याक्सवेलको तेस्रो ओभरको तेस्रो बलमा 'इन साइट एज' लागेपनि विकेटकिपर म्याथ्यु वेडले क्याच 'ड्रप' गरेका थिए।
ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन जोडे। जेम्स निशम १३ र टिम सेइफर्ट ८ रनमा अविजित रहे।
अस्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए। एडम जाम्पाले १ विकेट लिए।
अस्ट्रेलियाले यसअघि २ च्याम्पियन्स ट्रफी र ४ एकदिवसिय विश्वकप उपाधि जितेको छ। अस्ट्रेलियाले १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जितेको थियो।
२००६ र २००९ को च्याम्पियन्स ट्रफी उपाधि जितेको थियो। २०१० मा टी२० विश्वकप फाइनलमा अस्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।
विजेता अस्ट्रेलियाले १.६ मिलियन डलर पुरस्कार पाउने छ। उपविजेता टोली न्यूजिल्यान्डले ८ लाख डलर प्राप्त गर्नेछ। सेमिफाइनलमा पराजित हुने २ टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४-४ लाख डलर प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।