काठमाडौं- पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलिया र न्यूजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। यी दुई उत्कृष्ट टोली आईसीसी टी२० विश्वकप २०२१ को फाइनल खेल खेल्दैछन्।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतबार बेलुका यी दुई टोली बीचको खेल ७ : ४५ मा सुरु हुनेछ। जारी विश्वकपमा साँझको खेलमा टस जित्ने टोलीले पहिले बलिङ गर्ने गरेका छन्।
फाइनल खेल दुबईमा हुनेछ, जहाँ १२ मध्ये १० खेल टस जित्ने टोलीले जितेको छ। यसबाहेक, अबुधाबी र दुबईमा भएका २७ डे-नाइट खेलमध्ये २१ खेल त्यो टोलीले जित्यो, जसले लक्ष्य पछ्यायो ।
दुबईमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने सम्भावना उच्च हुन्छ। सेमिफाइनलमा पाकिस्तान र इङ्ल्यान्ड पहिला ब्याटिङ गर्दा हार्न पुगेका थिए। भारतले पनि पाकिस्तान र न्यूजिल्यान्डसँग पहिला ब्याटिङ गर्दै हारेको थियो।
दुबईमा भएका पछिल्ला १७ टी२० खेलमा १६ टोली विजयी लक्ष्य पछ्याउँदा मात्र विजयी भएका छन्। आईपीएल फाइनलमा चेन्नई मात्र पहिला ब्याटिङ गर्दा पराजित भएको थियो।
शीत कारण दोस्रो इनिङ्समा विशेष गरी स्पिन बलिङलाई अलि कठिन र ब्याटिङलाई सजिलो बनाइदिएको देखिन्छ।
नकआउट चरणका खेलको अन्तिम ओभरमा बलरलाई १२ रन प्रतिओभर पनि जोगाउन गाह्रो भएको देखिएको थियो। फ्लडलाइट अन्तर्गत दोस्रो इनिङ्सको दौडान फास्ट बलरहरूले ९ खेलमा १० इकोनोमिमा प्रतिओभर रन दिएर केवल ८ विकेट लिएका छन्।
विश्वकपको सुपर १२ खेलको सुरुदेखि नै लक्ष्य पछ्याउने टोलीले खेल जित्दै गएको थियो। यस अवधिमा २३ मध्ये १८ खेल यसरी जित्यो। यता, दुबईमा यो कीर्तिमान ९ खेलमध्ये ९ खेलमा कायम भयो।
तर, यस्तो भएको यो पहिलो पटक भने होइन। २०१४ र २०१६ को विश्वकपमा धेरै जसो रातका खेलहरू लक्ष्य पछ्याउने टोलीले जितेका थिए। त्यसैगरी टस जित्ने टोलीले यसपटक पनि उत्तिकै फाइदा उठाइरहेका छन्।
दुवै सेमिफाइनल खेलपछि यो स्पष्ट छ, यदि ठूला खेल जित्न चाहने टोलीले ठूलो स्कोर बनाउनुपर्छ। २०१४ देखि टी२० विश्वकपका ८ नकआउट चरणका खेलहरूमध्ये ७ टोलीले लक्ष्य पछ्याउँदै जित निकालेका छन्।
अष्ट्रेलियाले जारी प्रतियोगितामा अहिलेसम्म ५ पटक टस जितेको छ भने इङ्ल्यान्डसँगको खेलमा हार बेहोरेको छ। अर्कोतर्फ, न्यूजिल्यान्डले यस प्रतियोगितामा भारत र इङ्ल्यान्डसँगको दुई महत्त्वपूर्ण खेलमा दुई पटक मात्र टस जितेको थियो। पछिल्ला ६ विश्वकपको फाइनलमा ६ पटक टस जितेको टोलीले उपाधि जितेको छ ।
अघिल्लो च्याम्पियनको कुरा गर्ने हो भने २०१६ को विश्वकपमा वेस्टइन्डिजले सबै ६ खेलमा टस जितेर उपाधि जितेको थियो ।
यी सबै ६ खेलमा उसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। त्यस्तै, २०१२ को उपाधि जित्दा वेस्टइन्डिजले ७ खेलमध्ये ६ खेलमा टस जितेको थियो।
२००७ मा भारतले ५ खेलमा टस जित्यो, जसमा दुई महत्त्वपूर्ण नकआउट चरणका खेल थिए। २०१४ मा श्रीलंकाले उपाधि जित्दा सबै ४ खेलमा टस जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।