काठमाडौं- आईसीसी टी-२० महिला विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ।
१४ सदस्यीय महिला टोली आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कतारमा रहँदा महिला टोलीले तीन टी-२० सिरिज खेल्ने तालिका छ।
टोलीले कात्तिक ३०, मङ्सिर १ र २ मा कतारसँग तीन टी-२० आई सिरिज खेल्नेछ। त्यसपछि नेपाली टोली मङ्सिर ३ मा यूएईतर्फ प्रस्थान गर्नेछ। एसिया छनोट मङ्सिर ६ देखि १२ सम्म हुनेछ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको लागि नेपालसहित छ राष्ट्रले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन्।
छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी छ राष्ट्र सहभागी छन्। नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग खेल्नेछ। त्यसको भोलिपल्ट मङ्सिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मङ्सिर ९ गते कुवेत, मङ्सिर १० गते मलेसिया र मङ्सिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
कतार जानुअघि नेपाली टोलीले बंगलादेशसँग तीन खेलको सिरिज २-१ ले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।