काठमाडौं- मुख्य प्रशिक्षकविहिन रहेको नेपाली क्रिकेट टोलीले अन्तिमपटक गत बैशाखमा घरेलु मैदानमा मलेसिया र नेदरल्यान्डसम्मिलित टी२० सिरिज खेलेको थियो।
त्यसपछि लगभग ७ महिना कुनैपनि टी२० प्रतियोगिता खेलेको छैन। तर, नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी२० आई वरियतामा भने फड्को मारेको छ।
शनिबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १२औं स्थानमा उक्लिएको हो। यसअगाडि १३औं स्थानमा रहेको नेपालले यसपटक टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्यान्डलाई समेत पछि पारेको छ।
१९ खेलमा ३ हजार ५ सय ५६ पोइन्ट जोडेको नेपालभन्दा पछाडि आयरल्यान्ड, स्कटल्यान्ड, यूएई, नामिबिया, ओमान, नेदरल्यान्ड छन्। विश्व वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ भने भारत दोस्रोमा।
अब नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि छनोट खेल खेल्ने छ। आईसीसीले गत महिना नेपालसहित ४ देशलाई वरियताका आधारमा विश्व छनोटमा प्रवेश दिएको थियो। नेपालका लागि विश्व छनोट एउटा अवसर हुन सक्छ।
विश्व छनोटमा २ समूहमा प्रतिस्पर्धा हुने बताइएको छ। दुवै समूहमा ८-८ टिम हुनेछन्। समूह 'ए' को खेल आगामी फेब्रुअरी र समूह 'बी' को खेल आगामी मेमा हुनेछ।
दुवै समूहका शीर्ष २-२ टिम सन् २०२२ को टी२० विश्वकपको पहिलो चरणका लागि छनोट हुनेछन्। आईसीसीले विश्व छनोटको खेल तालिका, समूह विभाजन र खेल स्थल अझै टुंगाइसकेको भने छैन।
विश्व छनोट आउन तीन महिना बाँकी रहेको अवस्थामा नेपालले अझै तयारी थालेको छैन। यता, डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली टिमको प्रमुख प्रशिक्षक पद खाली छ। क्यानले प्रमुख प्रशिक्षकका लागि दरखास्त आह्वान गर्दै प्रशिक्षक नियुक्त प्रक्रिया अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।