पोखरा– करिब २ साताअघि पोखराको सराङकोटमा मृत भेटिएकी महिलाको हालसम्म सनाखत हुन सकेको छैन।
प्रहरीले गत जेठ २३ गते सराङकोटस्थित देउराली घुम्तीको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा उक्त शव फेला पारेको थियो।
बेवारिसे शव भेटिएको धेरै दिन बितिसक्दा पनि सनाखत हुन नसक्दा कास्की प्रहरीले आइतबार प्रेस विज्ञप्तिमार्फत शव पहिचानका लागि आह्वान गरेको छ।
विज्ञप्तिमा अन्दाजी २५/३० वर्षकी ती महिला गहुँगोरो वर्ण, मझौला शरीर, घाँटीमा रातो पत्थर भएको गोलो लकेटसहितको रातो पोते, पहेंलो मंगलसूत्र जस्तो हार, दुबै कानमा पहेंलो लुर्कन, बायाँ हातमा दुई वटा र दायाँ हातमा एउटा औंठी तथा सिउँदोमा सिन्दूर लगाएकी महिलालाई चिन्नुहुनेले प्रहरीमा सम्पर्क गर्न भनिएको छ।
‘मृतकको आफन्त हालसम्म पनि फेला नपरेको र आफन्तको खोजतलासका लागि मृतकको फोटोसहितको समाचार प्रकाशन गरी सहयोग गरिदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।
शव भेटिएपछि घटनास्थलको मुचुल्का उठाई पोस्टमार्टम समेत गरिसकिएको र शव हाल पश्चिम क्षेत्रीय अस्पतालको शवगृहमा रहेको कास्की प्रहरीले जनाएको छ।
यसअघि पनि बुधबार प्रहरीले महिलाको शव सनाखतका लागि प्रेस विज्ञप्ति निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।