काठमाडौं- जारी आईसीसी टी२० विश्वकप प्रतियोगिताभर उत्कृष्ट प्रदर्शनका साथ पाकिस्तानले अपराजित रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो।
तर,सेमिफाइनलमा ब्याटिङमा राम्रो प्रदर्शन गरेपनि बलिङ अपेक्षाअनुसार चल्न नसक्दा अष्ट्रेलियासँग ५ विकेटले पराजित भयो। योसँगै सन् २००९ को विश्व विजेता पाकिस्तानको एक दशकपछि पुन: फाइनलमा पुगेर उपाधि उचाल्ने सपना यहीँ तुहियो।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
हारका बाबजुद पाकिस्तानी विकेटकिपर तथा ओपनर मोहम्मद रिजवान यतिबेला चर्चामा छन्।
पाकिस्तानका लागि रिजवान एक्लैले ६७ रन जोडेका थिए। उनले ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। रिजवानको यो टी२० करिअरको ११ औं अर्धशतक हो।
योसँगै रिजवान एकै वर्षमा टी२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन्।
रिजवानले ६ खेलमा दुई सय ८१ रन जोडेका छन्। उनले यो वर्ष एक हजार ३३ रन बनाएका छन् र यसका लागि २० वटा इनिङ्स खेलेका छन्।
तर, उनी यो प्रदर्शनका कारण मात्र चर्चाको शिखरमा पुगेका होइनन्। अस्ट्रेलियासँगको खेलमा मैदान उत्रनुअघि रिजवानलाई ३६ घण्टा आईसीयूमा राखेर उपचार गरिएको थियो।
उनले अष्ट्रेलियाविरुद्धको महत्वपूर्ण खेल गुमाउने आशंका गरिएको थियो। तर, गम्भिर बिरामी भएका उनी अस्ट्रेलियाविरुद्ध खेल्न आईसीयू शैय्याबाट उठेर मैदान पुगे। यसैले प्रमाणित गर्छ, एक खेलाडीको लागि विश्वकप कतिको महत्वपूर्ण छ भनेर।
पाकिस्तानी क्रिकेट टोलीका चिकित्सक नाजिबुल्ला सूम्रोका अनुसार रिजवान र शोएब मलिक दुवैले ‘माइल्ड फ्लू’को कारण बुधबार पाकिस्तानको प्रशिक्षण सत्र गुमाएका थिए। दुवैको कोभिड-१९ को परीक्षण नेगेटिभ आएको थियो।
तर, रिजवान नोभेम्बर ९ मा दुबईस्थित मेडिअर अस्पताल भर्ना भए। रिजवानको छातीमा गम्भिर संक्रमण थियो। आईसीयूको शय्यामा दुई रात बिताए पछि उनी डिस्चार्ज भए।
डिस्चार्ज भए पनि उनलाई होटलमा निगरानीमा राखिएको थियो। उनको स्वास्थ्यलाई लिएर पाकिस्तान टोली धेरै चिन्तित भएन। उनीहरूलाई विश्वास थियो, रिजवन खेल्नको लागि समयमै निको हुनेछन्।
‘नोभेम्बर ९ मा छातीमा गम्भिर संक्रमण देखिएपछि रिजवानलाई अस्पताल भर्ना गरिएको थियो। उनले दुई रात बिताएका थिए। स्वास्थ्यमा सुधार भएपछि उनी अस्ट्रेलियाविरुद्ध खेल्न तयार भए,’ सूम्रोले क्रिकइन्फो डटकमसँग भने,‘उनको स्वास्थ्यको बारेमा निर्णय सम्पूर्ण टोली व्यवस्थापनले गरेको थियो। र, यो सम्पूर्ण टोलीको मनोबलको बारेमा थियो। त्यसैले, हामीले यसलाई गोप्य राख्यौं।’
तर,रिजवान बिरामी भएकोबारे खेलअघि केही सार्वजनिक भएको थिएन।
यद्यपि, केही समाचारमाध्यमले भने उनलाई साधण खोकी लागेको समाचार प्रशारण गरेका थिए। खेलको १३औं ओभरमा उनी सम्हालिन नसकेको स्पष्ट देखिएको थियो।
मिचेल स्टार्कको बलिङमा बलले रिजवानको टाउकोमा महसुस हुने गरि हेल्मेटमा लाग्यो। जसले उनको अनुहारमा थिच्यो र उनको दाहिने गालामा घाउ भयो।
पाकिस्तानी फिजियोले मैदानमा कन्क्ससन चेक गरे र रिजवानलाई ब्याटिङ जारी राख्न फिट रहेको बतायो। त्यसपछि उनले हेल्मेट फुकालेर उपचार गरे र खेलमा फर्किए।
खेल दौरान पाकिस्तानका ‘ब्याटिङ कन्सल्टेन्ट’ म्याथ्यु हेडेनले रिजवानलाई योद्धा भन्दै तारिफ गरेका छन्।
‘मोहम्मद रिजवान एक रात अघि फोक्सोको कुनै प्रकारको अवस्थाबाट पीडित थिए,’ उनले भने,‘ उनी एक योद्धा हुन्। उनी प्रतिभाशाली छन्, र उनीसँग ठूलो साहस छ,’ उनले भने।
रिजवान पाकिस्तानका लागि शीर्ष क्रममा एक प्रमुख ब्याट्सम्यान मानिन्छन्।
उनी आफ्नो ओपनिङ पार्टनर तथा कप्तान बाबर आजमलाई पछि पार्दै ६ खेलबाट २८१ रन बनाएर विश्वकपमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।
उनले हाल यस वर्ष २० इनिङ्समा ८६.०८ को औसत र १३६.४५ को स्ट्राइक रेटमा १०३३ रन बनाएका छन्।
अष्ट्रेलियाविरुद्धको खेलमा पनि आजम र रिजवानले पहिलो विकेटका लागि १० ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
स्पिनर एडम जाम्पाको बलमा ठूलो सट खेलेका बाबर लङअनमा डेविड वार्नरबाट ३९ रनमा क्याच आउट भए।
बाबरले ३४ बलमा ५ चौका प्रहार गरे। पाकिस्तानले शुक्रबार दुबईबाट बंगलादेशको लागि यात्रा सुरु गर्नेछ। तीन खेलको टी२० आई शृंखलापछि दुई टेस्ट खेल्नेछ। टेस्ट शृंखलाका लागि नोभेम्बर १५ सम्ममा टोली घोषणा गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।