विराटनगर– संखुवासभाको मकालु गाउँपालिका–५ दोभानस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ खन्ने क्रममा पहिरोमा परी थुनिएका ४ जनालाई आइतबार जीवितै उद्दार गरिएको छ।
पहिरो खसेर थुनिएका भारतको झारखण्ड निवासी अपरेटर ५५ वर्षीय बुधन मुण्डा, भारतको बिहार निवासी इलेक्ट्रिक मिस्त्री ४५ वर्षीय नन्द किशोर तथा कामदारहरु कालिकोट सिउना गाउँपालिका–४ का ३२ वर्षीय प्रदीप शाही र जुम्लाको चन्दननाथ नगरपालिका १ का ४४ वर्षीय प्रेम परियारको उद्दार गरिएको प्रहरीले जनाएको छ।
आयोजनाको ड्याम साइडको सुरूङ खन्ने क्रममा प्रवेशद्वारमा पहिरो खस्दा उनीहरु शुक्रबार राति ९ बजेदेखि सम्पर्कविहीन थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ढुंगामा प्वाल पारी डोरीको मद्दतले उनीहरुको उद्दार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।