काठमाडौं- आसन्न आईसीसी वुमन्स टी२० विश्वकपको एसिया छनोटको तयारी लागि बंगलादेशमा अभ्यास गर्न गएको नेपाली महिला क्रिकेट टोली बसमार्फत् स्वदेश फर्किने भएको छ।
बंगलादेशमा रहँदा नेपाली महिला टोलीले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल समेत खेलेको थियो। नेपाली टोलीले बुधबार भएको अन्तिम तथा तेस्रो खेलमा बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी)लाई ७ विकेटले हराउँदै सिरिज २-१ ले जितेको थियो।
सिरिज सकिएसँगै टोली हिजै फिर्ता हुने बताइएको थियो। उनीहरु बिहीबार बिहान ९:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने क्रार्यक्रम तय थियो।
तर, अन्तिम समयमा कोभिड–१९ प्रोटोकल पालना हुन नसकेपछि टोलीले काठमाडौं फर्किने उडान छुटाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टोलीलाई सुरक्षित नेपाल ल्याउनका लागि प्रयास भइरहेको जानकारी दिए।
'के भएको भन्ने एकिन थाहा छैन। तर, यस विषयमा बंगलादेश क्रिकेटमा बुझिरहेका छौं। टोलीलाई ढाकाबाट भारत हुँदै झापासम्म सुरक्षित फिर्ता ल्याउने छौं। सकेसम्म आज राति नै स्थलमार्ग भएर ल्याइने छ,' उनले नेपाल लाइभलाई भने।
ढाकाबाट सातामा दुई दिन काठमाडौंमा उडान हुने गरेको छ। तर, अर्को उडान आइतबार मात्रै रहेको छ। आइतबार नेपाली महिला टोलीले कतार भ्रमणको लागि टिकट काटिसकेको छ। त्यसैले आज नै बसबाट ल्याउन लागेको उनले जानकारी दिए।
यता, क्यानका एक पदाधिकारीले भने टिम व्यवस्थापकले खेलाडीको पीसीआर परीक्षण नगराएका कारण उडान छुटाएको दाबी गरेका छन्।
'नेपाली टोलीको पीसीआर रिपोर्ट जाँच नै गरेनन्। त्यसैले टोली विमानस्थलमा प्रवेश गर्न पाएन र स्वदेश फर्किन सकेनन्,' ती पदाधिकारीले भने।
क्यानले यस विषयमा टिम व्यवस्थापकसँग औपचारिक प्रतिवेदन माग गरेको छ। नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट हुन् ।
नेपाली टिम आईसीसी वुमन्स टी२० विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न कात्तिक १८ मा बंगलादेश प्रस्थान गरेको थियो। बंगलादेशमा रहँदा नेपाली टोलीले स्थानीय टोली बिकेएसपीसँग तीन अभ्यास खेल खेलेको थियो।
जसमध्ये पहिलो खेलमा नेपाली महिला टोलीले बिकेएसपीलाई २४ रनले पराजित गरेको थियो। दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो। अन्तिम खेलमा नेपाल ७ विकेटले विजयी भयो।
बंगलादेशको तयारी सकेको नेपाली टोली आइतबार कतार प्रस्थान गर्ने छ।
टोलीले कार्तिक ३०, मंसिर १ र २ मा कतारसँग तीन टी२० आई सिरिज खेल्ने तय छ। त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ प्रस्तान गर्ने छ। एसिया छनोट मंसिर ६ देखि १२ सम्म हुनेछ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्।
छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन्। नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ। त्यसको भोलिपल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।