काठमाडौं- भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व टी२० कप्तान विराट कोहली र फिल्म स्टार अनुष्का शर्मालाई धम्की दिने एक युवक पक्राउ परेका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार मुम्बईको साइबर सेलले २३ वर्षीय रामनागेश श्रीनिवास अकुथिनीलाई हैदराबादबाट पक्राउ गरेको हो। उनी हैदराबादका सफ्टवेयर इन्जिनियर भएको बताइएको छ।
टी२० विश्वकप अन्तर्गत पाकिस्तानसँगको पहिलो खेलमा भारत १० विकेटले पराजित भएपछि कोहलीकी छोरीलाई उनले ट्वीटर अकाउन्टमार्फत् बलात्कार गर्ने धम्की दिएको मुम्बई प्रहरीले जनाएको छ।
टी२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डसँग भारत लगातार दुई खेलमा पराजय भएको थियो। उक्त खेलमा पराजित भएपछि भारत विश्वकपबाट बाहिरिएको थियो।
यता, दिल्ली महिला आयोग पनि घटनाप्रति सक्रिय थियो र यस धम्कीमा चालिएको कारबाहीको बारेमा दिल्ली प्रहरीको साइबर सेलसँग जानकारी मागेको थियो।
यसै क्रममा पाकिस्तानका पूर्वकप्तान इन्जमाम उल हकले पनि यस धम्कीप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो युट्युब च्यानलमार्फत् खेललाई खेलको रुपमा लिनुपर्ने बताएका छन्।
उनले भनेका छन्,‘खेलमा हार र जित भइरहन्छ। विराट कोहलीकी छोरीलाई धम्की आएको सुनेको छु। यदि तपाईंलाई विराटको ब्याटिङ वा कप्तानी मन पर्दैन भने त्यसमा भन्न सक्नुहुन्छ, तर परिवारको बारेमा कसैलाई बोल्ने अधिकार छैन।’
उनले थपेका छन्,‘यो एउटा खेल हो, कहिले राम्रो गर्छौ र कहिले नराम्रो गर्छौ। यसलाई खेलसम्म राख्नुहोस्।’
यसअघि भारतीय बरल मोहम्द शामीलाई पनि धेरैले धम्की दिएका थिए।
‘म माफी चाहन्छु, यस्तो हुनुहुँदैन। भारतको ब्याटिङ, बलिङ, टिम छनोटको बारेमा तपाईं आलोचना गर्न सक्नुहुन्छ। हार पनि राम्ररी सहनु पर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।