काठमाडौं- आईसीसी वुमन्स टि२० विश्वकप एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले सिरिज जितेको छ।
नेपाली टोलीले बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी)सँगको तीन टी२० अभ्यास सिरिज २-१ ले जितेको हो। अन्तिम तथा तेस्रो खेलमा नेपाली टोलीले ७ विकेटको जित हात पार्यो।
जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको नेपाली टोलीले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
नेपाली टोलीकी सरिता मगर १३ र कविता जोशी १४ रनमा अविजित रहिन्। यता, ओपनर काजल श्रेष्ठ १०, सीताराना मगर र ईन्दु बर्मा ५-५ रनमा आउट भए।
बिकेएसपीकी रबिया खातुनले सर्वाधिक दुई विकेट लिइन्।
त्यसअघि ढाकामा टस जितेर पहिला ब्याटिङ गरेको बिकेएसपी १६.५ ओभरम ५३ रनमा अलआउट भयो।
बिकेएसपीकी बोयना १७ रनमा अविजितर रहिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर लिसा ८, दीक्षा ७ र दीपा ६ रनमा आउट भइन्।
नेपालकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४ विकेट लिइन्। रुविना खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज चुनिएकी छिन्।
यता, करुणा भण्डारीले २ विकेट लिइन् भने कविता कुँवर र सीता मगरको नाममा १-१ विकेट रह्यो।
पहिलो खेलमा नेपाली महिला टोलीले बिकेएसपीलाई २४ रनले पराजित गरेको थियो। दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो। अब नेपाली टोली कतार प्रस्थान गर्नेछ।
टोलीले कार्तिक ३०, मंसिर १ र २ मा कतारसँग तीन टी२० आई सिरिज खेल्नेछ। त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने छ। एसिया छनोट मंसिर ६ देखि १२ सम्म हुनेछ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्।
छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्र सहभागी छन्। नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ। त्यसको भोलीपल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।