काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तह र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले प्रविधिमा नयाँ पुस्ताको पहुँच बढाउन पनि सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्ने आवश्यकता रहेको बताए।
सरकारी तथ्यांक अनुसार इन्टरनेट सेवा नहुँदा देशका १ सय ५० भन्दा बढी गाउँपालिकामा बैंकहरु सञ्चालनमा आउन सकेका छैनन्। मन्त्री बास्कोटाले सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन पनि सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको स्पष्ट पारे।
नेपालमा २९ हजार सामुदायिक विद्यालय रहेकोमा हाल ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको बताइएको छ। मन्त्री बास्कोटाले सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउन सरकारसँग स्रोत–साधनको पर्याप्त व्यवस्था नभए पनि सहयोगी हात रहेकोे बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।