काठमाडौं- सन् २०१७ मा लेजेन्डरी क्रिकेटर महेन्द्र सिंह धोनीको सन्यासले भारतीय क्रिकेटलाई ठूलो धक्का दियो। सबैले धोनीको सन्यासपछि भारतीय टोलीले पुनर्निर्माणको प्रक्रियामा धेरै समस्या खेप्ने आकलन गरेका थिए। तर, भयो विपरीत। विराट कोहली क्रिकेटको पावर हाउस भारतीय टोलीको कुशल कप्तानका रुपमा उदाए।
आफूले कप्तानी गरेपछि कोहलीले हरेक देशमा भारतलाई टेस्ट जिताए। सो क्रममा उनको ब्याटबाट ६ दोहोरो शतकसमेत बन्यो। उनले कप्तानी गरेका ३९ टेस्टमध्ये २२ मा भारतीय क्रिकेट टोलीले जित निकालेको छ। कोहली कप्तानीमा मात्रै होइन आफ्नो व्यक्तिगत प्रदर्शनमा पनि सफल सावित भएका छन्। उनले १६ शतकसहित ४ हजार बढी टेस्ट रन बनाएका छन्।
तर, खेलाडीको लय सधैं उस्तै हुँदैन। यही भित्र पर्छन् कप्तान कोहली। उनी पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका छन्, कप्तानी र व्यक्तिगत प्रदर्शनमा।
उनको कप्तानीमा रहेको भारतीय टोली आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेसँगै आईसीसी टी२० विश्वकप २०२१ बाट एक खेल अगावै बाहिरिसकेको छ।
यस सिजन खराब लयमा देखिएको भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने हुन्थ्यो। तर, न्युजिल्यान्डले अफगानिस्तानमाथि जित निकालेपछि भारतको अघिल्लो चरणको अंक गणीतिय सम्भावना समाप्त भएको छ।
यद्यपि, उसले आज प्रतियोगिताबाट बाहिरिसकेको कमजोर टोली नामिबियासँग अन्तिम खेल खेल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्ने छ।
भारत रहको सुपर १२ को समूह २ बाट न्युजिल्यान्डले ५ खेलमा ४ जित र १ हारसहित ८ अंक बनाउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। न्युजिल्यान्ड अंक तालिकाको दोस्रो स्थानमा छ।
यता, भारतललाई पहिलो खेलमै १० विकटले हराएको पाकिस्तानले २ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो। उसले जारी प्रतियोगिताको ५ खेलमा शतप्रतिशत जित निकाल्यो।
भारतले आजको खेलम नामिबियालाई हराए जम्मा ६ अंक हुनेछ। भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो। दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने लगभग निश्चित बनेको थियो।
तेस्रो खेलमा अफगानिस्तानलाई ६२ रन र स्कटल्यान्डलाई ८ विकेटले हराउँदै झिनो आशा कायमै राखेको थियो। सन् २००७ को विश्वकप च्याम्पियन टोली भारत २०१४ मा उपविजेता बनेको थियो। यस्तै, २०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो।
भारत बाहिएसँगै अब उक्त टोलीको कप्तानी कसले गर्छ? भन्ने विषयको पनि चर्चा सुरु हुन थालेको छ। किनभने कोहलीले आज जारी प्रतियोगिताको अन्तिम खेल नामिबियासँग खेल्दै कप्तानी त्याग्ने छन्।
उनी कप्तानी छाड्दै ब्याटिङमा ध्यान दिने मनस्थितिमा छन्। ‘कोहली अब कप्तानी छाड्दै आफ्नो व्याटिङमा ध्यान दिन चाहन्छन् र उनी विश्वको उत्कृष्ट ब्याट्सम्यान बन्न चाहन्छन्,’ बीसीसीआई स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।

कोहली भारती टोलीसँग २०२२ र २०२३ को टी२० र एकदिवसीय विश्वकप जित्न चाहन्छन्। त्यसकालाई उनको ब्याटिङ र फर्म निकै महत्त्वपूर्ण हुनेछ।
पछिल्लो समय कोहलीको कप्तानीलाई लिएर भारतीय क्रिकेट समर्थकहरुले चर्को आलोचना गर्दै आएका छन्। यसले उनमाथि दबाब परिरहेको जारी प्रतियोगितामा पनि प्रष्ट रुपमा देखिएको छ। त्यसैले उनी आफ्नो प्राथमिकता ब्याटिङमा राख्न खोजिरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार रोहित शर्माले सीमित ओभरमा टिमको कप्तानी सम्हालेमा कोहलीले टेस्टमा भारतीय टीमको कप्तानी जारी राख्न सक्नेछन्। साथै, टी२० र एकदिवसीय खेलमा ब्याटिङमा पनि सुधार गर्न सक्छन्।
कोहली भर्खर ३२ वर्ष पुगेका छन्। उनको फिटनेसलाई हेरेर भन्ने हो भने उनी अब कम्तीमा ५/६ वर्ष क्रिकेट खेल्नेछन्। उनले अहिलेसम्म ६५ टेस्ट म्याचको कप्तानी गरेका छन् जसमा ३८ मा जित हात पारेको छ। उनले ९५ एकदिवसीयमा खेलमा भारतको नेतृत्व गरेका छन् र ६५ खेल जितेका छन्।
कोहली २०१४ मा टेस्ट र २०१७ मा धोनीले टी२० को कप्तानी छाडेपछि भारतीय टोलीको कप्तान नियुक्त भएका थिए। कप्तान र ब्याट्सम्यानका रुपमा राम्रो सफलता हात पारेता पनि कोहलीले आफ्नो कार्यकालमा आईसीसीको कुनै उपाधि जित्न भने सकेका छैनन्।
यसपाली पनि सोही इतिहास दोहोरिएको छ। उनले आउँदो दिनमा यहि नमिठो इतिहास नदोहोरियोस् भनेर कप्तानी त्याग्न चाहेका हुन्। तर, यतिखेर रोहितबाहेक भारतीय टोलीको कप्तानी अन्य खेलाडीले पनि सम्हाल्न सक्ने आकलन गरिएको छ।
को हुन् त ती खेलाडी?

हार्दिक पान्ड्या
भारतीय टोलीको नियमित सदस्य बनेका हार्दिक पान्ड्याले टेस्ट टोलीको एक नम्बर रोजाइको अलराउण्डर हुन्। बलिंग र फिल्डिंगमा पोख्त रहेका हार्दिक उमेरले २४ वर्ष पुगे। उनले ११ टेस्ट र ४० भन्दा धेरै एक दिवसीय क्रिकेटको अनुभव बटुली सकेका छन्।
कुनैपनि टोलीको कप्तानीको अनुभव नरहेपनि कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने समयसम्ममा हार्दिक कप्तानीको लागि तयार हुने अपेक्षा गरिएको छ।
श्रेयस ऐर
पछिल्लो ३ वर्ष यता घरेलु क्रिकेटमा लगातार रन बनाउँदै आएका ऐर आफूले खेलेका ४९ प्रथम श्रेणी खेलमा ५३ को औसतमा ४ हजार १४८ रन बनाइसकेका छन्।
उनले राष्ट्रिय टोलीबाट भने पर्याप्त मौका पाउन सकेका छैनन्। सन् २०१८ को इन्डियन प्रिमियर लिगमा ऐरले दिल्ली डेयरडेभिल्सको कप्तानी भूमिका निर्वाह गरेका थिए। यस्तै, इन्डिया ए टोलीको कप्तानीको अनुभव रहेका ऐरमा धेरैले कोहलीकै बाटोमा रहेका छन्।
केएल राहुल
कोहलीले आईपीएलको फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानबाट राजीनामा दिने घोषणा गरेसँगै राहुलको नाम अग्रस्थानमा आएको थियो। जबकि उक्त टोलीमा डेभिड वार्नर, जोस बटलर जस्ता धेरै नाम चलेका खेलाडी छन्।
तर, पछिल्लो समय क्रिकेटका पण्डितहरुले केएल राहुललाई कोहलीको उत्तराधिकारीको रूपमा हेरेका छन्, फेन्चाइज टोली र राष्ट्रिय टोलीमा समेत।
राहुलसँग आईपीएल टोली पञ्जाब किंग्सको नेतृत्व गरेको अनुभव छ। ब्याटिङमा उत्कृष्ट लयमा रहेका राहुलले उपाधि भने जित्न सकेका छैनन्।

पृथ्वी शा
भारतलाई आफ्नो कप्तानीमा अन्डर १९ विश्वकप जिताएका पृथ्वीलाई ठूलो सम्भावना बोकेको खेलाडीको रुपमा हेरिएको छ।
उनले घरेलु क्रिकेटमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। जसको फलस्वरूप उनले राष्ट्रिय टेस्ट टोलीमा समेत आफ्नो स्थान बनाइसकेका छन्। उनले खेलेका १४ प्रथम श्रेणी खेलमा ५६ को औसतमा १ हजार ४१८ रन जोडेका छन्। शालाई धेरै क्रिकेट पण्डितले भविष्यको कप्तानको रुपमा हेरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।