काठमाडौं- एसोसियट टोली नामिबिया अर्को वर्ष अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपमा सोझै छनोट भइसकेको छ।
पहिलोपटक विश्वकप खेल्दै उत्कृष्ट प्रदर्शन गरेको नामिबिया आईसीसी टी-२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएको थियो।
पहिलो चरणको समूह ए मा रहेको नामिबियाले आयरल्याण्डलाई पछि पार्दै दोस्रो स्थानमा रहेर सुपर १२ खेलेको थियो।
पहिलो चरणमा श्रीलंकासँग ७ विकेटले पराजित भएको नामिबियाले त्यसपछि नेदरल्याण्ड्सविरुद्ध ६ विकेट र आयरल्याण्डविरुद्ध ८ विकेटको जित हात पार्दै सुपर १२ को समूह २ मा स्थान बनाएको थियो।
नामिबियाले सुपर १२ को पहिलो खेलमा स्कटल्याण्डलाई ४ विकेटले हराएको थियो। अफगानिस्तानसँग ६२ रन, पाकिस्तानसँग ४५ रन र न्युजिल्याण्डसँग ५२ रनले पराजित भएको थियो।
नामिबिया ४ खेलमा ३ हार र १ जितसहित पाँचौं स्थानमा छ। नामिबियाले आज आफ्नो अन्तिम खेल क्रिकेटको पावर हाउस मानिने भारतसँग खेल्दै जारी विश्वकपको यात्रा टुङ्ग्याउँदै छ।
उसले क्रिकेट करिअरमा पहिलोपटक भारतसँग खेल्न लागेको हो। नामिबियाको सोच खेलमा प्रतिस्पर्धा दिने हुनेछ। भारतसँग खेल्न पाउनु नामिबियाको लागि आफैंमा एक ठूलो उपलब्धि मान्नुपर्छ।
आजको खेलमा यदि नामिबियाले भारतलाई पराजित गर्यो भने भारतीय क्रिकेटको टी-२० विश्वकप इतिहासकै खराब संस्करण मानिनेछ। त्यसैले, नामिबियाका लागि आजको खेल ठूलो प्रतियोगिताको सुखद् अन्त्य गर्नु हुनेछ।
नामिबियाका प्रशिक्षक पियर डे ब्रुइनले आफूहरु ठूलो लक्ष्य लिएर आएको तर त्यो पूरा हुन नसकेको बताएका छन्।
उनले सुपर १२ खेलहरु आफ्ना लागि ठूलो अनुभव रहेको बताउँदै आगामी दिनमा सतप्रतिशत जितको लागि खल्ने बताएका छन्।
'हामी यहाँ ठूलो लक्ष्य लिएर आएका थियौं। तर, त्यो पूरा हुन सकेन। हाम्रो लागि सुपर १२ ठूलो अनुभवका साथ रह्यो। हामीले आफ्नो सतप्रतिशत दियौं,' उनले भने।
उनले सबै टिमसँगको खेल आफ्ना खेलाडीले राम्रो खेलेको भन्दै भारतसँगको खेल पनि राम्रो हुने विश्वास गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।