काठमाडौं– आईसीसी टी २० विश्वकप २०२१ मा अपराजित रहँदै सेमिफाइनलमा पुग्ने एकमात्र टोली बनेको छ पाकिस्तान। सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो।
जितको लागि १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रनमा समेटियो। स्कटल्यान्डका मध्यक्रमका ब्याटर रिची बेरिंगटनले अविजित ५४ रन बनाए। ओपनर जर्ज मुन्से १७ रन बनाउँदा माइकल लिस्कले १४ रन जोडेका थिए।
शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। पाकिस्तानका कप्तान बाबर आजमले ६६ रन तथा शोएब मल्लिकले अविजित ५४ रन बनाए।
बाबरको टि२० आई करिअरको २४ औं अर्धशतक हो । जारी विश्वकपमा बाबरको पाँच खेलमा चार वटा अर्धशतक बनाए। टि२० एकै विश्वकपमा यस अघि चार अर्धशतक भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले २०१४ र अष्ट्रेलिया ओपनर म्याथ्यु हेडेनले २००७ मा प्रहार गरेका थिए।
स्कटल्यान्डका क्रिस ग्रीव्सले ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। हम्जा ताहिर र सफ्यान शरीफले समान १/१ विकेट लिए।
जितसँगै पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रह्यो। यसै समूहबाट न्युजिल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ।
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ। अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटको आधारमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ।
पाकिस्तानले फाइनल प्रवेशका लागि बिहीबार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच शेख जायद स्टेडियम आबुधाबीमा हुनेछ भने दोस्रो सेमिफाइनल दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ। टी २० विश्वकपको फाइनल खेल आइतबार दुबईमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।