काठमाडौं- ‘युनिभर्स बोस’ क्रिस गेलले आफूले सन्यास नलिएको बताएका छन्। आईसिसी टी२० विश्वकप २०२१ अन्तर्गत शनिबार भएको वेस्टइन्डिज र अस्ट्रेलियाबीचको खेल करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल भनेर चर्चामा आए पनि उनले यसलाई नकारेका हुन्।
उनले घरेलु मैदान जमैकामा घरेलु समर्थकमाझ खेलेर सन्यास लिन चाहेको बताएका छन्। गेलले आईसिसीसँग भिडियो कुराकानी गर्दै आफूले जमैकामा बिदाई खेल खेल्ने अपेक्षा राखेका हुन्।
शनिबार अस्ट्रेलियाका खेलाडीले ड्वेन बाभ्रोले सन्यास घोषणा गरेकाले यी दुवै क्रिकेटरका लागि ‘गार्ड अफ अनर’ दिएका थिए।
‘यो मेरो निकै फेनोमेनल करियर रहेको छ’, गेलले भने, ‘मैले सन्यासको घोषणा गरेको छैन। यदि जमैकामा घरेलु दर्शकसामु खेल्ने अवसर दिइए घोषणा गर्छु र भन्ने छु-हे साथीहरु, सबैलाई धन्यवाद।’
गेलले आफूले अन्तिम विश्वकप भने खेलेको बताए। सन् २००५ मा मुटुको शल्यक्रिया गरेका गेल ४२ वर्ष पुगिसकेका छन्। उनी सन् १९९९ यता वेस्टइन्डिजको टोलीमा छन्।
उनले टेस्ट क्रिकेटमा १ सय ३ खेल खेल्दै १५ सतक र ३७ अर्धशतक बनाएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय १ खेल खेल्दै २५ शतक र ५४ अर्धशतक बनाएका छन्। यसैगरी टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७९ खेल खेल्दै दुई शतक र १४ अर्धशतक बनाएका छन्।
गेलले वेस्ट इन्डिजका लागि सन् २००४ मा आईसीसी च्याम्पियन्स ट्रफी तथा सन् २०१२ र २०१६ मा टी२० विश्वकप जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।