काठमाडौं- विश्व क्रिकेटको पावर हाउस भारत आईसीसी टी२० विश्वकप २०२१ समूह चरणबाटै बाहिरिएको छ।
आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारत एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो।
भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने हुन्थ्यो। तर, न्युजिल्यान्डले अफगानिस्तानमाथि जित निकालेपछि भारतको अघिल्लो चरणको अंक गणीतिय सम्भावना समाप्त भएको हो।
न्युजिल्यान्ड ५ खेलमा ४ जित र १ हारसहित ८ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
भारतले आफ्नो अन्तिम खेल सोमबार खेल्ने छ। भारतले उक्त खेलमा नामिबियालाई हराए जम्मा ६ अंक हुनेछ।
भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो। दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने लगभग निश्चित बनेको थियो।
तेस्रो खेलमा अफगानिस्तानलाई ६२ रन र स्कटल्यान्डलाई ८ विकेटले हराउँदै झिनो आशा कायमै राखेको थियो।
सन् २००७ को विश्वकप च्याम्पियन टोली भारत २०१४ मा उपविजेता बनेको थियो। यस्तै, २०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो।
भारत रहेको समूहबाट पाकिस्तान यस अघिनै ४ खेलमा ४ मा जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो। आज हुने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्डबीचको नतिजाले समूह विजेता र उप विजेताको टुङ्गो लाग्नेछ।
पाकिस्तानले नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ। पाकिस्तानले आज राती स्कटल्यान्डलाई हराउँदा १० अंकका साथ शीर्षस्थानमा रहने छ। पराजित भए समान ८–८ अंक हुँदा नेटरनरेटको आधारमा न्युजिल्यान्ड शीर्षस्थानमा रहनेछ।
न्युजिल्यान्डको नेटरनरेट प्लस १.१६२ र पाकिस्तानको प्लस १.०६५ छ।
सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लाग्यो
टी२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ। सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा पुगिसकेका छन्।
टी२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ। अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ। सेमिफाइनल बुधबार र बिहीबार हुनेछ। फाइनल आइतबार हुनेछ।
आज हुने दोस्रो खेलको नतिजाले समूह २ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। आज राति पाकिस्तान स्कटल्यान्डसँग पराजित भएमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ। पाकिस्तान विजयी भएमा समूह विजेता बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।