काठमाडौं- न्युजिल्यान्ड आईसीसी टी२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ। आइतबार सम्पन्न खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक सेमिफाइनलमा स्थान पक्का गरेको हो।
न्युजिल्यान्ड सेमिफाइनलमा पुगेसँगै भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन्।
जितका लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४२ बलमा ३ चौका ४० रनमा अविजित रहे।
यता, डेभन कन्वे ३६ रनमा अविजित रहे। तेस्रो विकेटका लागि कन्वे र विलियम्सनले ६८ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए।
ओपनर मार्टिन गुप्टिललाई २८ रनमा बोल्ड आउट भए। अर्का ओपनर डर्याल मिचेलला १७ रनमा क्याच आउट भए।
अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले १–१ विकेट लिए। त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रनमा समेटियो।
अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले सर्वाधिक ७३ रनको इनिङ्स खेले। उनले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए।
उनी अफगानिस्तानबाट टी२० विश्वकपमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्। यसअघि २०१४ मा हङकङविरुद्ध मोहम्मद शाहजादले ६८ रन बनाएका थिए।
गुलबदीन नादीले १५ र मोहम्मद नावीले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोस्रो अंकमा रन बनाउन सकेनन्।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए। ईश सोधी, एडम मिल्ने र जेम्स निशमको नाममा १-१ विकेट रह्यो।
सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेका छन्। न्युजिल्यान्ड यसअघि २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो।
यता, सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन्।
आज हुने दोस्रो खेलको नतिजाले समूह २ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। आज राति पाकिस्तान स्कटल्यान्डसँग पराजित भएमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ। पाकिस्तान विजयी भएमा समूह विजेता बन्नेछ। यी दुईको नतिजाले अन्य टोलीलाई प्रभावित पार्ने छैन।
इंग्ल्यान्डले समूह २ को उपविजेता र अष्ट्रेलियाले समूह २ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।