काठमाडौं– एसोसियट टोली नामिबिया र स्कटल्यान्ड अर्को वर्ष अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा सोझै छनोट भएका छन्।
आईसीसी टी–२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएका उनीहरु सोझै छनोट हुन सफल भएका हुन्।
नामिबियाले पहिलोपटक विश्वकप खेल्दै उत्कृष्ट प्रदर्शनका साथ सुपर १२ मा स्थान बनाएको थियो। पहिलो चरणको समूह ए मा रहेको नामिबियाले आयरल्यान्डलाई पछि पार्दै दोस्रो स्थानमा रहेर सुपर १२ खेलेको थियो।
पहिलो चरणमा श्रीलंकासँग ७ विकेटले पराजित भएको नामिबियाले त्यसपछि नेदरल्यान्ड्सविरुद्ध ६ विकेट र आयरल्यान्डविरुद्ध ८ विकेटको जित हात पार्दै सुपर १२ को समूह २ मा स्थान बनाएको थियो ।
यता, सुपर १२ को पहिलो खेलमै स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपछिको तीन खेलमा भने नामिबिया पराजित भयो। अफगानिस्तानसँग ६२ रनले पराजित भएको नामिबिया पाकिस्तानसँग ४५ र न्युजिल्यान्डसँग ५२ रनले पराजित हुँदै जारी प्रतियोगिताबाट बाहिरि सकेको छ। नामिबियाले अब अन्तिम खेल भारतसँग सोमबार खेल्नेछ।
यता, स्कटल्यान्डले पहिलो खेलमै बंगलादेशलाई ६ रनले पराजित गरेपछि समूह बी बाट सुपर १२ मा समूह विजेताको रुपमा स्थान बनाएको हो।
दोस्रो खेलमा उसले पपुवा न्युगिनीलाई १७ रन र ओमानलाई ८ विकेटले हराएको थियो। सुपर १२ मा अफगानिस्तानसँग १ सय ३० रन, नामिबियासँग ४ विकेट, न्युजिल्यान्डसँग १६ रन र भारतसँग ८ विकेटले पराजित भएको थियो। स्कटल्यान्डले अन्तिम खेल आज पाकिस्तानसँग खेल्दैछ।
विश्वकपको लागि १२ टोलीको टुङ्गो
अर्को वर्ष हुने टी२० विश्वकपको लागि १२ टोलीको टुङ्गो लागेको छ ।
इंग्ल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेश सुपर १२ मा आफ्नो स्थान पक्का गरेका छन्।
यी ८ टोली आईसीसी टी२० वरीयतामा शीर्षमा रहेर सोझै सुपर १२ मा पुगेका हुन्।
यता, दुई पटकको विश्वकप च्याम्पियन वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले पहिलो चरणमा स्थान बनाएका छन्।
अब विश्वकपमा चार टोलीले स्थान बनाउने छन्। आईसीसीका अनुसार ग्लोबल छनोटमा नेपालसहित कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट समूह ए र बी का शीर्ष दुई दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
४ टोलीले ग्लोबल छनोट खेल्ने
जारी विश्वकपबाट पहिलो चरणबाटै बाहिरिएका ४ टोलीले ग्लोबल छनोट खेल्ने भएका छन्।
आईसीसीको प्रावधान अनुसार आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र ओमानले ग्लोबल छनोट खेल्नुपर्ने छ।
यता, नेपाल, सिंगापुर, युएई र जिम्बावे वरियताको आधारमा ग्लोबल छनोटमा गतवर्ष पुगिसकेका छन्। नेपालले खेल्ने छनोट प्रतियोगिताको आयोजक र मिति भने तय भइसकेको छैन।
विभिन्न रिजनबाट छनोट भएर आएका ८ टोली गरि कुल १६ टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछन्। आयोजक आईसीसीले ती १६ टोलीलाई दुई समूहमा विभाजन गर्नेछ। जसबाट हरेक समूहका शीर्ष दुई दुई टोली विश्वकपमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।