काठमाडौं- ओपनर डेविड वार्नर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलिया आसीसी टी२० विश्वकप २०२१ को सेमिफाइनल नजिक पुगेको छ।
शनिबार सम्पन्न सुपर १२ को समूह १ को अन्तिम खेलमा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको हो।
यद्यपि, सेमिफाइनलको लागि अष्ट्रेलियाले आजै हुने दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको नतिजा पर्खनुपर्नेछ। जितको लागि वेस्टइन्डिजले दिएको १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
अष्ट्रेलिया उत्कृष्ट जितमा वार्नर ८९ रनमा अविजित रहे। उनले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
यता, मार्श ५३ रनमा क्याच आउट भए। दोस्रो विकेटका लागि मार्श र वार्नरले ७५ बलमा १ सय २४ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थएि।।
अर्का ओपनर तथा कप्तान आरोन फिन्च ९ रनमा आउट भएका थिए। वेस्टइन्डिजका अकिल हुसैन र क्रिस गेलले समान १ विकेट लिए।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो।
वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यता, शिम्रन हेटमायरले २७ रन बनाए भने। आन्द्रे रसेल १८ रनमा अविजित रहे। ओपनर ईविन लेविस २९ रनमा आउट भए।
क्रिस गेल १५, ड्वेन ब्राभो १० रनमा आउट भए। अष्ट्रेलिया जोश हेजलवुडले सर्वाधिक ४ विकेट लिए। मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले समान १ विकेट लिए।
अष्ट्रेलियालाई सेमिफाइनलमा पुग्न अफ्रिका र इंग्ल्यान्डबीच हुने आजको दोस्रो खेलको नतिजा कुर्नुपर्नेछ। उक्त खेलमा इंग्ल्यान्ड विजयी भएमा अष्ट्रेलिया सोझैं सेमिफाइनलमा पुग्नेछ। दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न विशाल जितको आवश्यक पर्नेछ। सामान्य जित निकालेको खण्डमा भने अष्ट्रेलियानै सेमिफाइनल खेल्नेछ।
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मा जित नकिाल्दै ८ अंक जोड्दै शीर्षस्थानमा छ। अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ।
दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकको साथ तेस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।