काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत आज (शनिबार) दुई खेल हुँदै छ । आज समूह १ अन्तर्गत पहिलो खेलमा अष्ट्रेलिया र वेस्ट इन्डिज आमनेसामने हुँदै छन् भने दोस्रो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ।
सेमिफाइनल प्रवेशका लागि आजको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध जित निकाल्नुपर्नेछ।
यो समूह बाट लगातार चार खेल जित्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ। अष्ट्रेलिया र दक्षिण अफ्रिका बाँकी एक स्थानका लागि संघर्षरत छन्।
चार मध्ये समान तीन–तीन खेलमा जित हात पारेको अष्ट्रेलिया र दक्षिण अफ्रिका नेट रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यसैले अष्ट्रेलिया र दक्षिण अफ्रिका दुबैका लागि आजको खेल महत्वपूर्ण छ।
यदि यी दुई मध्ये एक टोलीले मात्र जित निकालेमा सो टोली अन्तिम चारमा प्रवेश गर्नेछ भने दुबै टोलीले जित हात पारेमा रनरेटको भर पर्नुपर्नेछ।
यस समूहबाट पाँच मध्ये दुई खेलमा जित निकालेको श्रीलंका, चारमध्ये केवल एक खेल जितको वेस्ट इन्डिज र पाँचवटै खेलमा पराजय भोगेको बंगालदेश प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।