काठमाडौं- भारतले आईसीसी टी२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह २ को चौथो खेलमा प्रतियोगिताबाट बाहिरिसकेको स्कटल्यान्डलाई ८ विकेटले हराउँदै सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवितै राखेको छ।
स्कटल्याण्डले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा ८९ रन बनायो।
भारतका लागि लोकेश राहुलले सर्वाधिक ५० रन बनाए। उनले १९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यता, रोहित शर्माले ३० रन बनाए। उनले १६ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
सूर्यकुमार यादव ६ र विराट कोहली २ रनमा अविजित रहे। स्कटल्यान्डका मार्क वाट र ब्राडली व्हीलले समान १ विकेट लिए।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनायो।
स्कटल्यान्डका लागि जर्ज मुन्शेले सर्वाधिक २४ रनको योगदान दिए। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
यता,माइकल लीस्कले २१, कलुम म्याकलडले १६ र मार्क वाटले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेकनन्।
स्कटल्यान्डलाई सस्तैमा समेट्न मोहमद शामी र रविन्द्र जडेजाले समान ३ विकेट लिए। यता, जस्प्रित बुमराहले २ विकेट लिए भने रविचन्द्र आश्विनको नाममा १ विकेट रह्यो।
जितसँगै भारत तेस्रो स्थानमा उक्लिएको छ। भारतको ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंक बनाएको छ। भारतले अन्तिम खेलमा नामिबियालाई विशाल अन्तरले हराउनु पर्छ। यो खेल सोमबार हुनेछ।
तर, न्युजिल्यान्ड अफगानिस्तानसँग पराजित भएको खण्डमा मात्र भारत सेमिफाइनलमा पुग्न सक्छ। यी दुईको अन्तिम खेलमा आइतबार रहेको छ।
यो खेलमा न्युजिल्यान्ड विजयी भएको खण्डमा भारत बाहिरिनेछ। न्युजिल्यान्ड अन्तिम खेलमा विजयी हुँदा ८ अंक हुनेछ।
यता, भारतले अन्तिम खेलमा जित निकाले ६ अंक मात्र हुनेछ। जसको कारण न्युजिल्यान्ड पराजित भएमा मात्र भारत नेटरनरेटको आधारमा सेमिफाइनलमा पुग्ने छ। तर, नेटरनरेटमा निर्भर रहनेछ।
यो समूहबाट पाकिस्तान शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ। उसको ४ खेलबाट ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।