काठमाडौं- नामिबियालाई ५२ रनले हराउँदै न्युजिल्यान्डले आईसीसी टी२० विश्वकप २०२१ को सेमिफाइनल नजिक पुगेको छ।
सुपर १२ को समूह २ को दोस्रो स्थानमा उक्लिएको न्युजिल्यान्डले अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्न सके सेमिफाइनलमा पुग्नेछ। पराजित भएमा नेटरनरेटमा निर्भर हुनेछ।
जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रन बनायो। नामिबियाका ओपनर माइकल भान लिङ्गेनले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
स्टेफन ब्राड २१ रनमा बोल्ड आउट भए। उनले २२ बलमा २ चौका प्रहार गरे। यता, जेन ग्रिन २३ र जेजे स्मितले ९ रन बनाए।
तीव्र गतिका बलर टिम साउथी र टेन्ट्र बोल्टले समान २ विकेट लिए। मिचेल सान्टनार, जेम्श निसम र ईश सोधीले १–१ विकेट लिए।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। न्युजिल्यान्डका ग्लेन फिलिप्स सर्वाधिक ३९ रन अविजित रहे। उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
जेम्श निसम ३५ रनमा अविजित रहे। ओपनर मार्टिन गुप्टिल १८ रनमा आउट भए। केन विलियम्सनलाई २८ र मिचेल डर्याल १९ रनमा आउट भए।
डेभन कन्वे १७ रनमा रन आउट भए। नामिबियाका बर्नार्ड शोल्ट्ज, डेविड विसे र गेरहार्ड इरास्मसले १–१ विकेट लिए।
समूह २ बाट पाकिस्तान ४ खेलमा ४ मा जितका साथ सेमिफाइनलमा पुगिसकेको छ। न्युजिल्यान्डले आइतबार अफगानिस्तानसँग खेल्नेछ। उक्त खेलमा विजयी भएमा न्युजिल्यान्ड ८ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।