काठमाडौं– पर्यटन प्रवर्द्धनका लागि उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केवलकार चलाइने भएको छ।
केवलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एण्ड केवलकार लिमिटेडलाई अनुमति दिएको छ। ३ दशमलब ५ किलोमिटर लामो दूरीमा केवलकार चलाउन वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढेको छ। वन तथा वातावरण मन्त्रालयले मूल्यांकन गरेपछि दुई वर्षमा केवलकार निर्माण सम्पन्न हुने जनाइएको छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल मण्डल पर्यटन नगरीले शनिबार आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले वातावरणीय क्षति भए पूर्ति हुने गरी केवलकार सञ्चालन हुनुपर्ने धारणा राखे।
केवलकारले स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई पनि यहाँ आकर्षित गर्ने उनको भनाइ थियो।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले केवलकार निर्माणले धार्मिक पर्यटनसमेत प्रवर्द्धन हुने भएकाले अनुमति दिइएको बताए। विश्वका हिन्दू एवम् बौद्ध धर्मावलम्बीलाई शिवपुरीमा आकर्षित गर्न सकिने उनको भनाइ छ।
कार्यक्रममा राष्ट्रिय सहिद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, पर्यटन नगरीका अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष इन्द्र लामा, चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजन केसी, महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख श्यामकुमार राईलगायतले उपत्यकाको सुन्दर दृश्य देखिने शिवपुरीमा बन्ने केवलकारले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गर्ने विचार राखे।
वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आएलगत्तै निर्माण सुरु गर्ने लिमिटेडका अध्यक्षसमेत रहेका पर्यटन नगरीका उपाध्यक्ष लामाले जानकारी दिए। केवलकार निर्माण गर्न एक अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। स्थानीयवासीलाई पनि केवलकारको शेयर वितरण गरिने लिमिटेडले जनाएको छ।
केवलकार निर्माण भएपछि उपत्यकामा नयाँ संरचनाअनुसार स्थानीय तहको अनुमतिमा बनेको यो नै पहिलो केवलकार हुनेछ। केवलकारले गोकर्णेश्वर महादेव मन्दिर र सहिद तथा शान्ति स्मारकको पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने विश्वास गरिएको छ। निकुञ्जमा रहने वन्यजन्तु एवम् जडीबुटी र वनस्पतिको संरक्षणमा केवलकारको सञ्चालनले असर नगर्ने जनाइएको छ। (पूर्णप्रसाद मिश्र/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।