तस्बिर– आईसीसी
काठमाडौं– साबिक विजेता वेस्टइन्डिज आईसीसी टी–२० विश्वकप क्रकेट २०२१ को समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेलामा श्रीलंकासँग २० रनले पराजित हुँदै वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको हो।
जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६९ रन मात्रै बनाउन सक्यो।
वेस्टइन्डिजका लागि युवा ब्याटर शिम्रन हेटमायरले अविजित रहँदै ५४ बलमा ८१ रनको इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्। शिम्रनले ८ चौका र ४ छक्का प्रहार गरे।
शिम्रन बाहेक वेस्टइन्डिजका अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि २ पटकको च्याम्पियन वेस्टइन्डिज श्रीलंकासँग पारजित हुँदै समूह चरणबाट बाहिरिएको हो।
वेस्ट इन्डिजका निकोलस पुरनले ३४ बलमा ६ चौका र १ छक्कासहित ४६ रन बनाए। क्रिस गेल १, इविन लुईस ८, रोश्टन ९ र आन्द्रे रसेल २ रनमा आउट भए। काइरन पोलार्ड शून्य, जेसन होल्डर ८ र ड्वेन ब्राभो २ रनमा आउट भए।
श्रीलंकन स्पिनर वान्दिुन हसरंगाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। चामिका करुणारत्ने ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए। बिनुरा फर्नान्डो २, दुश्मन्था चामिरा र दासुन शनकाले १–१ विकेट लिए।
आबूधाबीस्थित शेख जायद स्टेडियम टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो। श्रीलंकाका चरिथ असलंकाले ४१ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६८ रन बनाए। ओपनर पाथुम निसांकाले ४१ बलमा ५१ रन बनाए।
कप्तान दासुन शनका १४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे।
श्रीलंकाविरुद्ध वेस्टइन्डिजका आन्द्रे रसेलले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। ड्वेन ब्राभोले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थि । वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले हारेको थियो।
तेस्रो खेलमा भने बंगलादेशलाई ३ रनले हराउँदै सेमिफाइनल पुग्ने झिनो आशा कायमै राखेको वेस्टइन्डिज श्रीलंकासँगको हारपछि भने समूह चरणबाट बाहिरिएको हो।
यद्यपि वेस्टइन्डिजले आफ्नो अन्तिम खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।