काठमाडौं- आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा बंगलादेशमाथि अष्ट्रेलियाले ८ विकेटको जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ।
बंगलादेशले दिएको ७४ रनको कमजोर लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा पूरा गरेको हो।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले २० बलमा २ चौका र ४ छक्कासहित ४० रन बनाए। त्यस्तै, अर्का ओपनर डेविड वार्नरले १८ रन जोड्दा मिचेल मार्श १६ रनमा नटआउट रहे।
बंगलादेशका तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको बंगलादेशले दुबईमा १५ ओभर ब्याटिङ गर्दै ७३ रनमा आफ्नो सबै विकेट गुमाएको थियो।
बंगलादेशका लागि समिम हुसेनले १९, ओपनर मोहमद नइमले १७, महमुदुल्लाहले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
अष्ट्रेलियाका एडम जाम्पाले ४ ओभर बलिङ गर्दै १९ रन खचिएर ५ विकेट लिए।
मिचेल स्टार्क र जोस हेजलवुडले समान २–२ विकेट हात पारे। ग्लेन म्याक्सवेलको नाममा एक विकेट रह्यो।
यस समूहमा इंग्ल्यान्ड ८ अंकसहित शीर्षस्थानमा रहँदा दक्षिण अफ्रीका र अष्ट्रेलियाको समान ६-६ अंक छ। वेस्ट इन्डिजको २ अंक रहँदा श्रीलंका र बंगलादेश अंकविहिन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।