काठमाडौं- ओपनर मार्टिन गुप्टिलको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले आईसीसी टी२० विश्वकप २०२१ मा लगातार दोस्रो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको हो।
न्युजिल्यान्डले दिएको १ सय ७३ रनको बलियो विजयी लक्ष्य पछ्छाएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रनमा समेटियो।
स्कटल्यान्डका लागि मिचेल लीस्कले सर्वाधिक ४२ रनको योगदान दिए। उनले २० बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यता, म्याथ्यु क्रसले २७ रन बनाए भने जर्ज मुन्से २० रनमा समेटिए।
रिची म्याकलोडले २० रन जोड्दा अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र ईश सोधीले समान २ विकेट लिदाँ टिम साउदीको नाममा १ विकेट रह्यो।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो।
न्युजिल्यान्डका ओपनर गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए। उनले ५६ बलमा ६ चौका र ७ छक्का प्रहार गरे।
१९ औं ओभरको तेस्रो बलमा ब्राडली व्हीलले कलम म्याकलडबाट क्याच गराएपछि गुप्टिल शतक बनाउन चुकेका थिए।
यता, ग्लेन फिल्पिस ३३ रनमा क्याच आउट भए। डेरिल मिसेल १३ रन बनाउँदा जेम्स नासाम १० रनमा नटआउट रहे। अन्य खेलाडीको प्रर्दशन उल्लेख्य रहेन।
स्कटल्यान्डका सफ्यान शारिफ र ब्राडली व्हीलले समान २ विकेट लिए। मार्क वाटले १ विकेट लिए।
जितपछि ३ खेलबाट ४ अंक जोडेको न्युजिल्यान्ड ‘ग्रुप २’ को तेस्रो स्थानमा छ। समूहमा समान खेलबाट समान अंक जोडे पनि राम्रो नेट रनरेटका साथ अफगानिस्तान दोस्रो स्थानमा छ। योसँगै न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहेको छ।
यता, तीन खेलमध्ये तीनै खेल गुमाएको स्कटल्यान्डको सेमिफाइनल सम्भावना सकिएको छ।
‘ग्रुप २’ बाट चार खेलमा शतप्रतिशत जित निकालेको पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।