काठमाडौं- पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम टी२० वरीयताको शीर्षस्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी ब्याटिङ्ग पहिलो नम्बरमा पुगेका हुन्।
टी२० विश्वकप २०२१ मा उत्कृष्ट प्रदर्शन गरिरहेका आजम यसअघि जनवरी २०१८ मा पहिलो स्थानमा थिए। उनी एकदिवसीयमा पनि पहिलो नम्बरमा छन्।
टी२० को शीर्ष ब्याट्सम्यान र बलरमा कुनै पनि भारतीय खेलाडी यसपटक परेका छैनन्। बलिङतर्फ श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगा करियरमा पहिलोपटक शीर्षस्थानमा उक्लिएका छन्। उनले जारी टी२० विश्वकप प्रतियोगितामा दक्षिण अफ्रिका र इङ्ल्यान्डविरुद्धको खेलमा लगातार तीन विकेट लिएका थिए।
यस सूचीमा दक्षिण अफ्रिकाका तबरेज शम्सी, इङ्ल्यान्डका आदिल राशिद र अफगानिस्तानका राशिद खान क्रमश: दोस्रो, तेस्रो र चौथौ स्थानमा छन्।
अफगानिस्तानका मोहम्मद नाबी टी२० को अलराउन्डरतर्फ शीर्षस्थानमा छन्। उनले बंगलादेशका शकिब अल हसनलाई पछि पारेका छन्।
अलराउन्डर खेलाडीमा वानिन्दु हसरंगा पनि चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।