काठमाडौं- यूएईमा जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले लगातार चौथो हार बेहोरेको छ। मङ्गलबार अबुधाबीमा भएको खेलमा बंगलादेश दक्षिण अफ्रिकासँग छ विकेटले पराजित भएको हो।
दक्षिण अफ्रिकाको भने यो तेस्रो जित हो। जारी प्रतियोगितामा चार खेल खेलेको दक्षिण अफ्रिकाले एक खेलमा पराजय बेहोरेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १८ ओभर दुई बल खेल्दा सबै विकेट गुमाएर ८४ रन जोडेको थियो। बंगलादेशका माहेदी हसनले सर्वाधिक २७ रन बनाए। अर्का ब्याट्सम्यान लिटोन दासले २४ र शामिम हुसेनले ११ रन जोड्नुबाहेक अन्य ब्यान्सम्यानले दोहोरो रन बनाउन सकेनन्।
दक्षिण अफ्रिकाका कागिसो रबादा र अनरिच नोर्ट्जले समान तीन/तीन विकेट लिए। ताब्रेइज शाम्सीले दुई तथा ड्वाइन प्रेटोरसले एक विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ३९ बल बाँकी हुँदा नै निर्धारित ८५ रनको लक्ष्य मात्र चार विकेटको क्षतिमा पूरा गर्यो। दक्षिण अफ्रिकाका तेम्बा बाभुमाले ३१, रास्सी भान डे ड्युसनले २२ र क्वाइन्टन डी ककले १६ रन बनाए। रीजा हेन्ड्रिक्सले चार तथा डेभिड मिलरले पाँच रनको योगदान गरे।
बंगलादेशका टास्किन अहमदले दुई तथा माहेदी हसन र नासुम अहमदले समान एक/एक विकेट लिए।
आजको हारसँगै बंगलादेश अंकतालिकाको अन्तिम स्थानमा रहेको छ। दक्षिण अफ्रिका भने ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको अस्ट्रेलिया ४ अंकका साथ तेस्रो स्थानमा रहँदा पहिलो स्थानमा रहेको इङ्ग्ल्याण्डले चार खेलबाट आठ अंक जोडिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।