काठमाडौं- इंग्ल्यान्डले आईसीसी टी२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ। सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ।
जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे। उनले ३२ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
जोनी बेयरस्टो १६ रनमा अविजित रहे। यता, अर्का ओपनर जेसन रोय २२ रनमा एलबीडब्लू आउट भए। डेविड मलान ८ रनमा आउट भए।
अष्ट्रेलियाका स्पिनर एडम जाम्पा र एश्टन अगरले १–१ विकेट लिए।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १ सय २५ रनमा अल आउट भयो।
अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ४९ बलमा ४ चौका प्रहार गरे। एस्टन अगरले २० रन जोड्दा म्याथ्यु वेडले १८ रन जोडे।
मिचेल मार्श १३, पाट कुमिन्स १२, ग्लेन म्याक्सवेल ६ र डेभिड वार्नर १ रनमा आउट भए।
इंग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। यता, क्रिस वोक्स रटाइमल मिल्सले समान २ विकेट लिए।
आदिल राशिद र लियाम लिभिङस्टोनको नाममा १–१ विकेट रह्यो।
इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो। अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।