काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ मा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ। समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
जितको लागि १ सय २५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले सर्वाधिक ६१ रनमा आउट भए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
डेविड मलान २८ रनमा अविजित रहे। जोनी बेयरस्टो ८ रनमा अविजित रहे। जस बटलर १८ रनमा क्याच आउट भए। बंगलादेशका शोरिफुल ईस्लाम र नासुम अहमदले १–१ विकेट लिए।
शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनायो। बंगलादेशका मुश्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए।
कप्तान महमुदूल्लाह रियादले १९ रन जोडे। नासुम अहमद १९ रनमा अविजित रहे। लिटन दास ९ रनमा क्याच आउट भए। मोहम्मद नइम ५ रनमा क्याच भए।
इंग्ल्यान्डका तीव्र गतिका बलर टाइमल मिल्सले सर्वाधिक ३ विकेट लिए। पार्टटाइम स्पिनर लियाम लिभिङस्टोनले २ विकेट लिए।
मोईन अलीले २ विकेट लिए। क्रिस वोक्सको नाममा १ विकेट रह्यो।
इंग्ल्यान्ड २ खेलमा २ मानै जितका साथ शीर्षस्थानमा छ। इंग्ल्यान्डले अब शनिबार अष्ट्रेलियासँग खेल्नेछ। समान २ अंक भएपनि नेट रनरेटको आधारमा श्रीलंका दोस्रो, अष्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।