काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप २०२१ अन्तर्गत पाकिस्तानले लगातार जित हात पारेको छ। मंगलबार राति न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तानले लगातार जित हात पारेको हो।
सुपर १२ अन्तर्गत समूह बीमा रहेको पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै पाकिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८. ४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३३ रनको योगदान दिए।
आसिफ अली २७ तथा सोएब मलिक २६ रनमा अविजित रहे। कप्तान बाबर आजम ९, फखार जमान इमाद वासिम र मोहम्मद हफिज ११–११ रनमा आउट भए।
न्युजिल्यान्डका स्पिनर इश सोधीले २ विकेट लिँदा मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले समान १\१ विकेट लिए।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। न्युजिल्यान्डका डेभन कन्वेले सर्वाधिक २७ रन बनाए।
पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले समान १/१ विकेट लिए।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो। समूह बी मा पाकिस्तान २ खेलमा २ मानै जितका साथ शीर्षस्थानमा छ। अफगानिस्तान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ। पाकिस्तानले अव शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।
सुपर १२ को समूह ए मा इंग्ल्यान्ड १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ। श्रीलंका पनि १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ। १ खेलमा २ अंकका साथ अष्ट्रेलिया तेस्रो स्थानमा छ। दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।