ताप्लेजुङ– ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरेबियाबीचको उद्घाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एक जना बेपत्ता भएका छन्।
फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउनेक्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्से खोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन्।
मोटरसाइकलसहित खोल्सा तर्ने क्रममा अचानक बाढी आएर उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ। उनीसँगै मोटरसाइकलको पछाडि रहेका खड्ग विक भने हाम फालेर बाँच्न सफल भएका थिए। मोटरसाइकल भने झण्डै १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने बेपत्ता रहेको बताइएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, गएराति जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोले ग्रामीण सडकहरुमा क्षति पुगेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।