भक्तपुर– प्रहरीले मध्यपुर थिमि–४ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरबाट चारपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
कालीकोट गेला–४ का सरोज ढकालको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
प्रहरीले शाहीको कोठामा खानतलासी गरी एसर कम्पनीको ल्यापटप एक थान, प्रिन्टर एक थान, स्ट्याम्प प्याड तीन थान, सहायक अधिकृत लेखिएको छाप एक थान, कर्णाली–काठमाडौँ सार्वजनिक यातायात व्यवस्था समिति, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, विभिन्न मानिसका नामको २३ पानाको सवारी चालक बनाउन प्रयोग हुने कागजपत्र, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान, क्याल्कुलेटर एक थान बरामद गरेको छ।
त्यसैगरी, रातो मसीले लेखिएको विभिन्न मानिसको नाम भएको रगतको समूह छुट्याउने पेपर एक थान, विभिन्न मानिसको नामको यातायात व्यवस्था कार्यालयको नगदी रसिद चार थान, स्क्यानर तथा फोटोकपी मेशिन एक थान, सवारी साधनसम्बन्धी कागजात भएको रेकर्ड एक थान, लेमिलेसन मेशिन एक थान, विभिन्न जिल्लाबाट विभिन्न व्यक्तिको नाममा जारी गरिएको नागरिकता १४ थान, यातायत व्यवस्था कार्यालयको नगदी रसिद १६ थान, विभिन्न मानिसका नामको हिसाब–किताब लेखिएको रजिष्टर, प्रमुख जिल्ला अधिकारी लेखिएको पत्र, छापसहित कम्प्यूटर पेपर १ सय ५ पाना, नागरिकता तथा लाइसेन्स बनाउन प्रयोग हुने सेतो पेपर तीन थानसमेत बरामद भएको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको र शाहीलाई सरकारी छाप कीर्ते अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।