काठमाडौं- अष्ट्रेलियाले आईसीसी टी२० विश्वकप २०२१ मा विजयी सुरुआत गरेको छ।
शनिबार सम्पन्न टी२० विश्वकपको सुपर १२ को समूह ‘ए’ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
जितका लागि १ सय १९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलिया जितमा मध्यक्रमका ब्याटर स्टिभ स्मिथले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ३४ बलमा ३ चौका प्रहार गरे।
म्याथ्यु वेड १५ रनमा अविजित रहे। मार्कस स्टोइनिस २४ रनमा अविजित रहे। ग्लेन म्याक्सवेल १८ रनमा बोल्ड आउट भए। अर्का ओपनर डेविड वार्नर १४ र मिचेल मार्श ११ रनमा क्याच भए।
दक्षिण अफ्रिका एनरिच नोर्कियाले सर्वाधिक २ विकेट लिए। कगिसो रबाडा, तबरेज शाम्सी, केशव महाराजले १-१ विकेट लिए।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो।
दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररमले सर्वाधिक ४० रनको योगदान दिए। उनले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। तर, अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।
कागिसो रबाडा १९ रनमा अविजित रहे। कप्तान टेम्बा बभुमा १२ रनमा बोल्ड आउट भए। डेविड मिलर १६, हेनरिक क्लासेन १३, ओपनर क्विन्टन डी कक ७ रनमा आउट भए। एनरिच नोर्किय २, ड्वेन प्रिट्रिययस १ र केशव महाराज शून्यमा आउट भए।
अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुड, स्पिनर एडम जाम्पाले र मिचेल स्टार्कले समान २ लिए। प्याट कमिन्स र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए।
दक्षिण अफ्रिकाले दोस्रो खेल मंगलबार वेस्टइन्डिजसँग खेल्ने छ। यो खेल दुबईमा हुनेछ। अष्ट्रेलियाले बिहीबार श्रीलंकासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।