काठमाडौं– राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का संसदीय दलका नेता दीनानाथ शर्माले सांसदलाई प्रशिक्षण नभई भवन निर्माणमा सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘दातृ निकायले हामीलाई प्रशिक्षणका लागि नै सहयोग गर्न जरुरी छैन। संसद् भवन निर्माण गरिदिए हुन्छ। सांसदको लागि आवास बनाइदिए हुन्छ।’
नेता शर्माले स–साना काममा सांसदलाई विदेशमा पठाउन र कार्यक्रममा नबोलाउन समेत आग्रह गरे।
उनले नेपालको समृद्धिका लागि चीन र भारतबाट सहयोग लिनुपर्नेमा जोड दिए। उनले तत्कालीन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच एकता भइसकेकाले निर्वाचित सभामुख र उपसभामुख स्वतन्त्र भएकाले राजीनामा दिन नपर्ने तर्क गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सफल बनाउनुपर्ने बताए।
उनले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चिनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने धारणा राखे। अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि अहिलेकै ढाँचामा देशको विकास नहुने उनको भनाइ थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।