काठमाडौं- नेदरल्याण्ड्सका अलराउन्डर रायन टेन डोसेचले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
शुक्रबार राति सारजाहमा सम्पन्न खेलमा श्रीलंकासँग ८ विकेटले पराजित हुँदै नेदरल्यान्ड्सलाई जारी टी२० विश्वकपको सुपर १२ मा पुग्न असफल भएपछि डोसेचले सन्यासको घोषणा गरेका हुन्।
४१ वर्षीय डोसेचले नेदरल्यान्ड्सको अघिल्लो पहिलो राउण्डको खेलमा डेब्यूटेन्ट नामिबियाविरुद्ध खेलेका थिए।
समूह ‘ए’ मा रहेको नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै सुपर १२ को यात्रा तय गरेको थियो। लगातार दोस्रो हारसँगै नेदरल्यान्ड्स भने समूह चरणबाटै बाहिरिएको थियो।
उनले शुक्रबार श्रीलंकाविरुद्धको खेल खेलेका थिएनन्। ‘यो यात्रालाई बिचैमा टुङ्ग्याउन कठिन थियो। तर, यो प्रयासको एक हिस्सा हो। पाएको सफलतामा म खुशी छु,’ उनले भने,‘यस टोली र सहयोगी स्टाफले देखाएको व्यावसायिकता र समर्पण प्रेरणादायी छ। म खेलाडीहरु र कोचहरुलगायत सबैप्रति आभारी छु।’
दक्षिण अफ्रिकामा जन्मेका डोसेचले सन् २००६ मा श्रीलंकाविरुद्धको एकदिवसीय खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
उनले नेदरल्याण्ड्सका लागि ३३ एकदिवसीय र २४ टी२० खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।