काठमाडौं– श्रीलंका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणको समूह विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको छ।
शुक्रबार राति सारजाहमा सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंकासमूह विजेता बनेको हो। श्रीलंकाले समूहको तीनवटै खेलमा जित हात पार्यो।
नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाको जितमा कुशल परेराले अविजित ३३ रन बनाए।
चारिथ आसलन्का ६ रनमा आउट हुँदा अभिस्का फर्नान्डो २ रनमा अविजित रहे। ओपनर पाथुम निसान्का शून्य रनमा आउट भए।नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले समान १/१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १० ओभरमा अलआउट हुँदै ४४ रन बनाएको थियो। नेदरल्यान्ड्सका कोलिन एकार्मानले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले समान ३/३ विकेट लिए। महेश थिकसानाले २ तथा दुश्मन्था चामिराले १ विकेट लिए।
जितसँगै पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले ३ खेलमा ६ अंक जोड्यो। यस समूहबाट नामिबिया ४ अंकका साथ उपविजेता बन्दै सुपर १२ मा पुगेको छ। नेदरल्यान्ड्स र आयरल्याण्ड भने बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।