काठमाडौं- डेब्यू टी२० विश्वकप खेलेको नामिबिया सुपर १२ मा पुगेको छ। आयरल्यान्डलाई ८ विकेटले हराउँदै नामिबिया सुपर १२ मा पुगेको हो।
जितको लागि १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
नामिबिया जितमा कप्तान गेरहार्ड इरास्मस सर्वाधिक ५३ रनमा अविजित रहे। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
डेविड विसे २८ रनमा अविजित रहे। ओपनर क्रेग विलियम्स १५ रनमा क्याच आउट भए। आयरल्यान्डका कर्टिस क्याम्फरले २ विकेट लिए।
त्यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो।
आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले सर्वाधिक ३८ रन बनाए। उनले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
केभिन ओ ब्रायनले २५ रन बनाए। कप्तान एन्डी बालबर्नी २१, ग्रेथ डेलानी ९, ह्यारी टेक्टर ८, निल रक ५ र कर्टिस क्याम्फर ४ रनमा आउट भए।
नामिबिया जन फ्रिलिंकले ३ विकेट लिए। डेविड विसेले २ विकेट लिए। पहिलो चरणको समूह ‘ए’ मा रहेको नामिबिया सुपर १२ को समूह ‘बी’ मा रहनेछ।
नामिबियाले सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ को विजेता स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।