काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त जानकारी दिएका हुन्।
उनले प्राधिकरणले ठूला आयोजनाहरु सुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजनाबाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स प्राधिकरणले पाउने बताए।
‘आगामी दिन विद्युत् प्राधिकरण र ऊर्जा क्षेत्रको एकदमै उज्वल छ। प्राधिकरणले ठूला आयोजनाहरु सुरु गरेन भन्ने आरोप लगाउँथे, प्राधिकरणले अहिले करिब दुई हजार मेगावाटका ठूला आयोजनाहरु अगाडि बढाएको छ, दुई हजार मेगावाटको आयोजना अघि बढ्दै गर्दा अर्को एउटा ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउँदै छ, अपर अरुण र अरुण चौथो गर्दा करिब १५ सय मेगावाट त अरुण करिडोरमा मात्रै विकास गर्दै र्छौं,' शुक्रबार प्राधिकरणअन्तर्गतको कर्मचारी संघको १२औं महाधिवेशन उद्घाटन समारोहमा कार्यकारी निर्देशक घिसिङले भने।
कर्मचारीको लगानीमा पनि विकास गर्ने भनेर प्रोजेक्ट अघि बढिरहेको उनले बताए। 'आजको मुख्य च्यालेञ्ज भनेकै विद्युत् खपत कसरी बढाउने र कसरी माग बढाउने, लोडसेडिङ कसरी अन्त्य गर्ने, भन्ने नै छ, वर्षातको कारण माग पनि कम भएको स्थिति र हाम्रो एक्सपोर्ट पनि कम भएको स्थिति छ। भारतको बिहारतर्फ पनि हामीले केही एक्सपोर्ट गरिरहेका थियौँ, तर अहिले उहाँहरुको पनि डिमाण्ड कम भएको स्थितिले गर्दा प्रत्येक दिन हामी ४००/५०० मेगावाट स्पिल (खेर) गरिरहेका छौँ,’ उनले भने।
कार्यकारी निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्नसक्ने ट्रान्समिसन लाइन बनाउनेतर्फ प्राधिकरण बढिरहेको बताए। उनले इलेक्ट्रिकल सवारी लगायतका विभिन्न क्षेत्रमा विद्युत् खपतको माग बढाउने बताए। उनले विद्युतको खपत बढाउन प्रसारणलाइन सुदृढीकरणको काम भइरहे पनि अदालतको आदेश र स्थानीयको अवरोधका कारण तीव्र गतिमा काम हुन नसकेको घिसिङले गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।