काठमाडौं- बंगलादेशले आईसीसी टी२० विश्वकप २०२१ को सुपर १२ मा स्थान पक्का गरेको छ। समूह ‘बी’ मा रहेको बंगलादेशले पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै सुपर १२ मा स्थान पक्का गरेको हो।
जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पपुपा न्युगिनी १९.३ ओभरमा ९७ रनमा अलआउट भयो।
पपुवा न्युगिनीका विकेटकिपर किप्लिङ डोरिगा सर्वाधिक ४६ रनमा अविजित रहे। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे। पपुवा न्युगिनीका ९ खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
चन्द सोपर ११ रनमा आउट भए। हरि हरि ८, सिमन अट्ली, सेसे बाउ ७, असाद भाला ६, ओपनर लेगा सिका ५, चाल्र्स अमिनी १ र नर्मन भानुवाले खाता खोल्न सकेनन्।
बंगलादेशका सकिब अल हसनले सर्वाधिक ४ विकेट लिए। मोहम्मद सैफुद्दिन र तस्किन अहमदको नाममा २/२ विकेट रह्यो।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो।
बंगदलादेशका कप्तान महमुदूल्लाह रियादले सर्वाधिक ५० रनको योगदान दिए। उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
सकिब अल हसनले ४६ रन बनाए। ओपनर लिटन दास २९, अफिफ हुसैन २१ रनमा आउट भए। मोहम्मद सैफुद्दिन १९ रनमा अविजित रहे। पपुवा न्युगिनीका काबुआ मोरेआ, दामेन राभू र असाद भालाले २/२ विकेट लिए।
बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्ष स्थानमा छ। बंगलादेश पहिलो खेलमा स्कटल्यान्डसँग ६ रनले पराजित भएको थियो। दोस्रो खेलमा ओमानलाई २६ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।