काठमाडौं– युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निल्दै श्रीलंका अघिल्लो चरणमा पुगेको छ।
आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो ।
श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा १ सय १ रनमा समेटियो।
आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए। भने कर्टिस क्याम्फरले २४ रनमा आउट भए। आयरल्याण्डका अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ तथा लाहिरु कुमारा र चामिका करुनारत्नेले २÷२ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो।श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनजोड्दा पाथुम निशान्काले ६१ रन बनाए। कप्तान डसुन शनकाले अविजित २१ रन बनाए।
आयरल्याण्डका जोस लिट्टलले ४ तथा मार्क एडियरले २ विकेट दिए। एक विकेट पाउल स्ट्रर्लिङको नाममा रह्यो।
जितसँगै श्रीलंकाले सुपर १२ स्थान पक्का गरेको हो। पहिलो चरणको समूह ए मा रहेको श्रीलंकाले २ खेलमा ४ अंक जोडेको छ।
समान २ खेलबाट २ अंक जोडेको आयरल्याण्ड दोस्रो स्थानमा छ। आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायम छ।
यस अघि पहिलो खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले हराएको थियो भने आयरल्यान्डले नेदरल्यान्ड्सलाई ७ विकेटले नै हराएको थियो ।यस समूहबाट नेदरल्यान्ड्स भने बाहिरिएको छ।
विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।