काठमाडौं- पूर्वदक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेको सानदार ब्याटिङमा नामिबियाले आईसीसी टी२० विश्वकपमा पहिलो जित निकालेको छ।
समूह ‘ए’ मा रहेको नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै सुपर १२ को सम्भावना जीवित्तै राखेको छ। लगातार दोस्रो हारसँगै नेदरल्यान्ड्स भने समूह चरणबाटै बाहिरिएको छ।
जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नामिबिया जितमा डेविड विसे सर्वाधिक ६६ रनमा अविजित रहे। उनले ४० बलमा ४ चौका र ५ छक्का प्रहार गरे। जेजे स्मित १४ रनमा अविजित रहे। कप्तान गेरहार्ड इरास्मस ३२ रनमा आउट भए।
ओपनर स्टेफन ब्राड १९, जेनी ग्रिन १५ र क्रेग विलियम्स ११ रनमा आउट भए। नेदरल्यान्ड्सका फर्द क्लासेन, कोलिन एक्रमन, पिटर सिलार र टिम भान डर गुग्टेनले १–१ विकेट लिए।
त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो।
नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७० रनको योगदान दिए। उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
कोलिन एक्रमन ३५ र स्कर्ट एडवाड्र्सले २१ रनको योगदान दिए। नामिबिया जन फ्रिलिंकले सर्वाधिक २ विकेट लिए। डेविड विसेको नाममा १ विकेट रह्यो।
नेदरल्यान्ड्सले आफ्नो अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ। नामिबयाले आफ्नो अन्तिम खेलमा शुक्रबार आयरल्यान्ड्सँग खेल्नेछ।
आजको खेलमा आयरल्यान्ड श्रीलंकासँग पराजित भएमा र अन्तिम खेलमा नामिबियाले जित निकालेको खण्डमा सुपर १२ मा पुग्नेछ।
पहिलो चरणको समूह ‘ए’ मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन्। श्रीलंका १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ। आयरल्यान्डको १ खेलमा २ अंक भएपनि नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ। नामिबिया २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ। दुबै खेलमा हारका साथ नेदरल्यान्ड्स बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।