काठमाडौं- अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ।
सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ। आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो।
बाढीले सबस्टेसनको कम्पाउण्ड वाल बगाएको छ। जडानका लागि राखिएका उपकरणहरु डुबेका छन्। बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए।
‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जानसक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत् सुरक्षित स्थानमा सारिएको छ,’ घिसिङले भने।
४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। साथै, ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो। बाढीका कारण सबै डुबानमा परेकाले उपकरणहरुमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।