काठमाडौं- स्कटल्यान्डले आईसीसी टी२० विश्वकप २०२१ मा लगातार दोस्रो जित हात पारेको छ। पहिलो चरणको समूह ‘बी’को स्कटल्यान्डले मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गरेको हो।
योसँगै स्कटल्यान्डले सुपर १२ को सम्भावना बलियो बनाएको छ। जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ४८ रनमा अल आउट भयो।
पपुवा न्युगिनीका नर्मन भानुवाले सर्वाधिक ४७ रनको योगदान दिए। उनले ३७ बलमा २ चौका र २ छक्का प्रहार गरे। सेसे बाउले २४ रनमा आउट भए।
यता, असाद भाला १८, किप्लिङ डोरिया १८ र चन्द सोपारले १६ रन बनाए। स्कटल्यान्डका जोश डेभीले सर्वाधिक ४ विकेट लिए। क्रिस ग्रीभ्स, मार्क वाट् अलास्डेयर इभान्स र ब्राडली व्हीलले १/१ विकेट लिए।
त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो।
स्कटल्यान्डका मध्यक्रमका ब्याटर रिची बेरिंगटनले सर्वाधिक ७० रनको इनिङ्स खेले। उनले ४९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
विकेटकिपर म्याथ्यु क्रसले ४५ रनको योगदान दिए। यता, जर्ज मुन्शे १५, कलुम म्याकलड १० र कप्तान काइल कोट्जर ६ रनमा आउट भए।
पपुवा न्युगिनीका काबुआ मोरेआले सर्वाधिक ४ विकेट लिए। यता, चन्द सोपारले ३ विकेट लिए।
समूह ‘बी’ मा स्कटल्यान्ड ४ अंकका साथ शीर्षस्थानमा छ। ओमान १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ। अन्तिम खेलमा स्कटल्यान्डले बिहीबार ओमानसँग खेल्नेछ। स्कटल्यान्डले पहिलो खेलमा बंगलादेशलाई ६ रनले पराजित गरेको छ।
आजकै अर्को खेलमा बंगलादेशले ओमानलाई पराजित गरे एक खेल अगावै स्कटल्यान्ड सुपर १२ मा पुग्नेछ। यता, पपुवा न्युगिनीको भने अघिल्लो चरण लगभग समाप्त भएको छ। अन्तिम खेलमा पपुवा न्युगिनीले बिहीबार बंगलादेशसँग खेल्नेछ।
पहिलो चरणको समूह ‘ए’ मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन्। समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन्। समूह ‘बी’ का खेलहरु ओमानमा हुनेछन्। पहिलो चरणको समूह ‘ए’ र ‘बी’ बाट शीर्ष दुई/दुई टोली सुपर १२ मा स्थान बनाउनेछन्।
सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन्।
समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन्। शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।